नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । बिहीबार राति ९२ वर्षको उमेरमा पूर्वप्रधानमन्त्री सिंहको निधन भएको हो । शनिबार उनको अन्त्येष्टि गरिने भएको छ ।
भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उनको निधनमा डिसेम्बर २७ (आज) का सबै सरकारी कार्यक्रम रद्द गरिएका छन्।
उनको अन्तिम संस्कार भने शनिबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ। अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ। केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ। प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।
कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ। उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरूले शोक व्यक्त गरेका छन्। मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो। पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरे र त्यसपछि अक्सफोर्डबाट पीएचडी गरे।
सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । भारतका सबैभन्दा प्रतिष्ठित नेतामध्ये एक डा. मनमोहन सिंहलाई भारतले गुमाएको मोदीले लेखेका छन् । साधारण परिवारबाट माथि उठेर प्रतिष्ठित अर्थशास्त्री बनेका सिंह वित्तमन्त्रीसहित भारतका विभिन्न पदमा बसेर आर्थिक नीतिमा बलियो छाप छोडेको मोदीले लेखेका छन् । भारतको प्रधानमन्त्रीको रूपमा सिंहले भारतीय जनताको जीवन सुधारमा व्यापक प्रयास गरेको भन्दै मोदीले पूर्व प्रधानमन्त्री सिंहलाई स्मरण गरेका छन् ।
सिंह सन् २००४ मा पहिलो पटक र सन् २००९ मा दोस्रोपटक भारतको प्रधानमन्त्री बनेका थिए । दुई कार्यकाल प्रधानमन्त्री रहेका सिंहलाई पदमा रहुञ्जेल जहिले पनि सोनिया गान्धीको ‘छाया’का रुपमा चित्रित गरियो। तर, पदबाट हटेपछि भने उनलाई ‘अन्डररेटेड’ प्रधानमन्त्री भन्नेहरूको संख्या ह्वात्तै बढेको छ।
सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए। उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे। टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ। सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल सो पदमा रहे। पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयानक आतंकवादी हमलाको चपेटामा पर्यो।
उसो त उनी प्रधानमन्त्री अपेक्षा सायदै कसैले गरेको थियो। सोनिया गान्धी प्रधानमन्त्री बन्ने आकलनको माझ गान्धीले नै सिंहको नाम घोषणा गरेकी थिइन्। त्यसैले कतिपयले उनलाई ‘एक्सिडेन्टल प्राइममिनिस्टर’ भन्ने गरेका छन्।
३३ वर्ष राज्य सभा सदस्य रहेका उनी कहिल्यै प्रत्यक्ष चुनिएनन्। जसका कारण अन्य नेताले जस्तो लोकप्रिय वैधताको उनलाई सधैँ अभाव रह्यो। त्यसमाथि लजालु स्वभाव र बिस्तारै बोल्ने बानीले कमजोर नेताको छवि बन्यो। तर, गठबन्धन सरकारको नेतृत्व गरेर पनि उनले विदेशी लगानी खोल्ने र अमेरिकासँग आणविक सम्झौता गर्नेजस्ता कठिन निर्णयमा दृढता देखाए। १९३२ मा हाल ब्रिटिस भारतको हाल पाकिस्तानमा पर्ने पञ्जाबमा जन्मिएका उनी उर्दु माध्यमको स्कुलमा पढेका थिए। विभाजनपछि उनको परिवार राजस्थान सर्यो।
अक्सफोर्डबाट अर्थशास्त्रमा डक्टरेट गरेर फर्केपछि उनले भारतमा प्राध्यापन र विभिन्न मन्त्रालय तथा आयोगमा रहेर काम गरे। १९९० मा प्रधानमन्त्री चन्द्रशेखरको सल्लाहकार रहेका उनलाई पीभी नरसिंह रावले अर्थमन्त्री बनाएका थिए।
प्रतिक्रिया