काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।सामाजिक संजालमार्फत भिडिओ सन्देश जारी गर्दै प्रचण्डले सुशासनका निम्ति स्थानीय तहको उपनिर्वाचनमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न अपिल गरेका हुन्।
‘यो उपनिर्वाचनले यथार्थमा भोलिको आम निर्वाचनका लागि नयाँ सन्देश दिने छ। साँच्चै नेपाली जनता सुशासनको पक्षमा रहेको, भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने एउटा अवसर पनि हो,’ प्रचण्डले भने, ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति बिसंगतीविरुद्ध एउटा नयाँ परिस्थिति सिर्जनाका लागि हामीलाई मतदान गर्नुहोस्। सुशासनको पक्षमा र सबैखाले बेथिति विरुद्ध एउटा नयाँ अभियान सुरु गरौं।’
उनले आफू प्रधानमन्त्री हुँदा सुशासन र न्यायको पक्षमा, भ्रष्टाचार र सबैखाले विभेदको विपक्षमा काम गर्नुका साथै देशलाई आर्थिक संकटबाट माथि उठाउने काम गरेको जिकिर गरे। मुलुकका ४४ स्थानीय तहमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
प्रतिक्रिया