×

‘सरोगेसी’ को कथा माइकल अधिकारी

images

काठमाडौं । धेरै वर्षको अन्तराल पछि रन्जित रौनियार निर्देशित डेब्यू चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनमा आएको छ । चलचित्रले सरोगेसीको कथावस्तु बोकेको छ । एउटा आमाले आफनो कोख नौं–नौं महिना कसरी अरुको लागि भाडामा दिन सक्छिन् भन्ने कुरा चलचित्रमा प्रष्ट्याइएको छ । 

गरिबीले मान्छेलाई कहाँसम्म धेकल्छ र गरिबीको कारण आम मानिस कतिसम्म तल गिर्न सक्छ भन्ने कुरा चलचित्रमा कृष्ण (सौगात मल्ल) र सुष्मा (सृष्टि श्रेष्ठ) को अभिनयबाट प्रष्ट हुन्छ ।  श्रीमान–श्रीमतीको भूमिकामा देखिएका कृष्ण  र सुष्माको झगडाबाट चलचित्रको कथा शुरु हुन्छ। यी दुबै एकअर्कालाई एकदमै माया गर्छन । कृष्ण एउटा अस्पतालमा सरसफाईको काम गर्छन भने सृष्टि घरकै कामहरुमा व्यस्त हुन्छिन्। सबै कुराहरुले निपुर्ण यी दम्पतीबीच फाटो ल्याउने एउटै कुरा भनेको पैसा नै हुन्छ । घरबेटीको भाडा देखि घरपरिवारमा चाहिने घरयासी कुराहरुको ताजोमाझोमा मिलाउने काममा नै दुईको जीवन अल्झिएको छ । 

कृष्ण काम गर्ने अस्पतालमा सेरोगेसीको कामहरु धमाधम भईरहेका हुन्छन् । अस्पतालमा बिदेशबाट आएका पाहुनालाई महिलाहरुले आफनो कोख भाडामा दिएर उनीहरुसँग राम्रो पैसा असुल्ने काम गरिरहेका हुन्छन् ।  यता रोजीरोटीका लागि संघर्ष गरिरहेको कृष्ण र सुष्मामा आर्थिक समस्या झनै बल्झिदै जान्छ र कृष्ण आफनो श्रीमतीको कोख भाडामा दिने निचोडमा पुग्छन । त्यसपछि चलचित्रको कथाले बेग्लै रुप लिन्छ । 

कोख भाडामा दिएकी सुष्मा आमा बनेपछि बच्चा अरुलाई सुम्पिन तयार हुन्छिन् कि हुन्नन् भन्ने कुराले चलचित्रको कथामा नयाँ मोड ल्याउने काम गर्छ  । पहिला पैसा राम्रो आउँछ भनेपछि अर्कालाई आफनो कोख भाडामा दिन प्रोत्साहित हुने तर गर्भधारण गरिसकेपछि सुष्मा आफनो बोलीमा अडिग नहुनु र उनीमाथी आउने उतारचढाव नै चलचित्रको मुख्य कथावस्तु हो । 

चलचित्रमा सबै कलाकारहरुले आफनो अभिनयमा न्याय गरेका छन् । सृष्टि र सौगताको अभिनयमा केही फरकपन देखिएको छ । सौगता भन्दा पनि नायिका सृष्टि चलचित्रमा परिपक्क देखिन्छिन् । सौगातको भुमिकामा परिवर्तन देखिए पनि उनको बोल्ने शैलीमा खासै परिवर्तन आएको छैन । त्यस्तै मामाको भुमिकामा देखिएका कलाकार आशान्त शर्माको अभिनय अन्य चलचित्रहरुमा भन्दा केही भिन्न छ । उनको भुमिकामा केही नयाँपन देखिन्छ ।

दिदिसँग डराउने र भिनाजुलाई तह लगाउने र साथै पर्दाटर्दा साथ दिने शर्माको अभिनयको शैलीलाई दर्शकहरुले चलचित्रमा पक्कै रुचाउनेछन् । निर्देशक रैनियारको डेव्यु चलचित्र भएपनि दर्शक सिनेमाघरमा जानै छाडेको बेला सरोगेसीमा चलचित्र निर्देशन गर्न उनले ठ्लो आँट गरेका हुन । चलचित्रमा उनको निर्देशकीय क्षमता प्रष्ट देखिन्छ । निर्देशकले चलचित्रलाई सक्दो दर्शकले रुचाउने खालको बनाउने कोशिस गरेका छन् ।     
 

शनिबार ११ भदौ २०७९ ०८:३५ AM मा प्रकाशित

प्रतिक्रिया