काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्टि जनाएका नेपाललाई भेट्न संयोजक प्रचण्ड सोमबार बिहान उनकै निवास कोटेश्वर पुगेका हुन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले तीन बुँदे सहमति गरेपछि नेता नेपालले तीव्र असन्तुष्टि व्यक्त गर्दै आएका छन्। विशेष गरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालको कडा असहमति छ।
कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले लिने गरी तीन बुँदे सहमति भएको थियो। उक्त निर्णयप्रति असहमति जनाउँदै नेता नेपालले आइतबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा आफू निकट नेताहरूसँग छलफल गरेका थिए।
सहमतिबारे पार्टीभित्र र आफूसँग पूर्वछलफल नगरी निर्णय लिइएको भन्दै असन्तुष्ट बनेका नेपाललाई फकाउन प्रचण्ड आफैं कोटेश्वर पुगेका हुन्।
भेटवार्ताका क्रममा प्रचण्डले एमालेसँग सहमति गर्दा केही प्रक्रियागत कमजोरी हुन पुगेको स्वीकार गरेको स्रोतले जनाएको छ। प्रचण्डले पार्टीभित्रको शक्ति सन्तुलन र गठबन्धनको निरन्तरताका लागि सहमति गर्नुपरेको स्पष्टीकरण दिँदै आगामी दिनमा असमझदारी हटाएर एकढिक्का भई अघि बढ्न प्रस्ताव गरेका छन्।
प्रतिक्रिया