×

कर्मचारीहरुको व्यवसायि कार्ययोजना नै पैसा असुल्ने भयो- मन्त्री किराँती

images

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तालुकदार मन्त्रीले करोडमा रुपैयाँ उठाएपछि कर्मचारीहरुको व्यवसायि कार्ययोजना नै पैसा असुल्ने भएको बताएका छन्।

बिहीबार नेपाल वायु सेवा नीगमको वार्षिक समीक्षा बैठकमा बोल्दै मन्त्री किरातीले तालुकदार मन्त्रीले करोडमा रुपैयाँ उठाएपछि कर्मचारीहरुको व्यवसायि कार्ययोजना नै पैसा असुल्ने भएको बताएका हुन्।

उनले भने, ‘म मन्त्री भएको सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ।

यति भन्दैमा फेरि निगमको कर्मचारीहरू चै चोखो छन् भन्ने हैन। नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यवसायिक कार्ययोजना हैन पैसा असुल्ने नै कार्ययोजना बनाउँछन्।’

मन्त्री किराँतीले आफू वर्ग र जातपात नहेर्ने र कामसँग मात्र आफ्नो सम्बन्ध रहेको बताए। ‘म व्यवहारमा नरम र नीतिमा कठोर मान्छे हो। अरु मन्त्रीलाई जस्तो मलाई पैसा हैन, एउटा चक्लेट पनि चाहिँदैन।

किन कि मलाई मृत्यु थाहा छ। म मरेपछि जम्माजम्मी पशुपतिमा अलिकति धुवाँ बन्छु। म मरेपछि पनि सधैँ सबैले सम्झिरहने गरी अजम्बरी हुन चाहन्छु त्यसैले मसँग लोभ छैन। 

मन्त्री किरातीले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपरी निगमलाई सुधार्न भरपुर प्रयत्न गर्ने बताए । “विगत जे भयो, अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ । तपाईंहरूसँग मलाई विश्वास छ, अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्नुपर्छ”, उनले भने ।

निगमलाई सुधार्न जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै मन्त्री किरातीले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने जिकिर गरे । उनले निगम सुधार्ने मौखिक प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन गर्न पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिए ।

उनले निगमको सञ्चालक समिति सदस्यहरू सुविधाका लागि प्रतिस्पर्धा गरिरहेको सुनेको भन्दै सुविधाका लागि राजनीतिक नियुक्तिको दुरुपयोग हुन नहुने उल्लेख गरे ।

 

 

बिहीबार १४ बैशाख २०८० ०९:२३ PM मा प्रकाशित

प्रतिक्रिया