×

प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकाले अहिलै हटाउनु गलत - प्रधानमन्त्री डा. बाबुराम भट्टराई

images

दाङ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकाले अहिलै हटाउनु गलत भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने बताएका छन् । ‘म भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि बिदाइ गर्थे,’ उनले भने, ‘अहिलै उनलाई चलाउनु सही थिएन ।’

उनले संस्थान, प्राधिकरण जस्ता राज्यका अर्धस्वायत्त अंगहरूमा दलीय हस्तक्षेप र नियन्त्रण हुनु हुँदैन भनेर थिति बसालेको भए पनि पछिल्लो समय त्यो भत्किएको बताएका छन् । यस्ता समस्या विधिले हल गर्नको लागि आफू सरकारको नेतृत्वमा छँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि उनले स्मरण गरेका थिए । पछिल्लो समय त्यो निर्देशन बोर्ड भत्काइएको र चरम दलीय हस्तक्षेपका कारण सरकारको आलोचना भइरहेको उनले बताए ।

कुलमानलाई हटाएकोबारे सरकारले जवाफ दिनुपर्ने पनि उनले बताए । उनले नेपालको राजनीति गम्भीर संकटमा रहेको पनि बताएका छन् । उनले निर्वाचन प्रणालीलाई सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि धारणा राखे । यो व्यवस्था नभएकैले पनि अस्थिरता रहेको उनको भनाइ थियो । पछिल्लो समय राजतन्त्र पुनस्र्थापनाका लागि भएको प्रदर्शनबारे बोल्दै राजतन्त्र भूत भइसकेको पनि उनले बताए ।

बिहीबार १३ चैत २०८१ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया