काठमाडौँ । भारतीय महिला क्रिकेटर स्मृति मन्धना र पलाश मुच्छलको विवाह स्थगित भएपछि सामाजिक सञ्जालमा यस विषयले व्यापक चर्चा पाएको छ ।
नोभेम्बर २३ मा सांगलीमा हुने भनिएको उनीहरूको विवाह अचानक उनीहरूका परिवारले स्थगित गरे । स्मृति मन्धनाका बुबा श्रीनिवास मन्धना अचानक विरामी भएर अस्पताल भर्ना गरेपछि विवाह स्थगित गरिएको बताइएको थियो । उनलाई हृदयघात जस्तो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको थियो तर उनलाई अहिले अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ ।
यसैबीच, पलाश मुच्छल र एक महिला बीचको कथित कुराकानीको स्क्रिनसट अनलाइनमा प्रसारित सार्बजनिक भएपछि यो विवाह स्थगित हुनुमा अनेक अड्कलबाजी जारी रहेका छन् । दुवै परिवारले यी विषय प्रष्ट नपारेपछि सामाजिक सञ्जालमा अड्कलबाजीको होड चलिरहेको छ । अर्कोतर्फ स्मृतिसहित उनका साथीहरुले विवाह अघि भएका हल्दी सेरोमनीसहितका कार्यक्रमका सबै तस्बीर र भिडियो हटाएपछि अड्कलबाजी अझ बढेको छ । स्मृतिले पलाशसँग भएको हल्दी सेरोमनीका सबै तस्वीर हटाएकी छन् ।
सामाजिक सञ्जाल र मिडियामा पलाशले स्मृतिलाई धोका दिएर अर्की महिलासँग लागेका कारण विवाह रोकिएको उल्लेख गरिएको छ । एक अज्ञात महिलाले पलाशसँगको कुराकानीको स्क्रीनशट सार्बजनिक गरेपछि विषय बढ्दै गयो र विवाह स्थगित भएको दाबी गरिएको छ ।
यसैबीच, विवाह स्थगित भएको एक दिन पछि, पलाश मुच्छलको स्वास्थ्य अचानक बिग्रियो र उनलाई अस्पताल भर्ना गर्नुपरेको छ ।
स्मृतिले भारतीय महिला क्रिकेट टिमलाई हालै पहिलो पटक एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । अर्कोतर्फ पलाश मुचाल बलिवुडका संगीत कम्पोजर हुन् । दुवै २०१९ देखि एक अर्काको प्रेममा परेका थिए ।
प्रतिक्रिया