काठमाडौँ । काठमाडौँ महानगरले नगरबासीलाई डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण दिने भएको छ । महानगर सूचना प्रविधि समितिले विद्युतीय सेवा सम्बन्धी काम गर्न सक्ने बनाउन, यस्तो सेवा लिँदा हुन सक्ने इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्ने निर्णय गरेको हो ।
आज समितिका संयोजक एवं प्रवक्ता नविन मानन्धरको अध्यक्षतामा बसेको बैठकले, प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यसप्रकारको प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । समितिले वडा नम्बर १७, १८, १९ र २९ मा प्रशिक्षण सुरु गरेर क्रमशः अन्य वडामा विस्तार गर्दै लगिने जानकारी दिएको छ ।
डिजिटल साक्षरतालाई प्रशिक्षार्थीको सूचना प्रविधिसँगको ज्ञानका आधारमा आधारभूत, मध्यम र विशिष्ट विषय राखेर प्रशिक्षण गराउन सकिन्छ । मोबाइल प्रविधि प्रशिक्षणका लागि पहिलो आवश्यक विषय हो । स्मार्टफोनलाई सही सेटिङ् गरिएन भने व्यक्तिगत विवरण चोरी हुन सक्छ । गलत एप्लिकेसनबाट व्यक्तिगत, पारिवारिक सूचना अर्काले लिएर आपराधिक क्रियाकलापमा प्रयोग गर्न सक्छ । यसका लागि एप्लिकेसनको जोखिमबाट बच्ने तरिका, मोबाइल डाटाको प्रयोग, वाइफाईको प्रयोग र सुरक्षा, हरेक प्रयोगकर्तालाई थाहा हुनुपर्छ । डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट्स, अनलाइन भुक्तानी, यसमा हुन सक्ने ठगी र बच्ने उपाय इन्टरनेट चलाउने हरेक व्यक्तिलाई ज्ञान हुनुपर्छ ।
व्यक्तिगत गोपनीयतासँगै साइबर सुरक्षाका लागि बलियो पासवर्ड राख्ने तरिका, ओटीपी (वन टाइम पासवर्ड)को प्रयोग, भाइरस, एन्टी भाइरस, शंकास्पद लिङ्कको पहिचान र यसबाट बच्ने तरिका जान्नु पर्छ । सामाजिक सञ्जालको प्रयोग, सामग्री शेयर गर्दा ख्याल गर्नु पर्ने कुरा, डिजिटल फुटप्रिन्ट, अनलाइन व्यवहारको ज्ञान हुनुपर्छ । सूचना साक्षरतामा भ्रामक समाचार र सही समाचार बिचको भिन्नता, सूचनाको स्रोत पुष्टि गर्ने तरिका पनि नागरिकले थाहा पाउनु पर्छ ।
कम्प्युटरका अङ्ग र सञ्चालन गर्ने विधि, फाइल व्यवस्थापन, फाइल सेभ गर्ने, कपी पेस्ट गर्ने, फाइलहरू खोज्ने तरिका, इन्टरनेट र ब्राउजिङ तथा वेब ब्राउजरको प्रयोग जस्ता विषयमा जानकारी राख्नुपर्दछ ।
सर्च इञ्जिनको प्रयोग र सही सूचना खोज्ने तरिका, वेव साइटको विश्वसनीयता, इमेलबाट गरिनेछ सञ्चार, भिडियो कन्फरेन्सिङ्, कार्यालय प्रयोजनका सफ्टवेयरहरु, डकुमेन्ट टाइप गर्ने, फम्र्याट मिलाउने, प्रिन्ट गर्ने, स्प्रेडसिट, प्रेजेन्टेसन जस्ता विषयको जानकारी चाहिन्छ ।
यी सबै विषयमा महानगरबासीलाई बुझ्न सक्ने बनाउन प्रशिक्षण सञ्चालन गर्न लागिएको हो । यससँगै गएका बैठकहरुले गरेका निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गरिएको थियो ।
प्रतिक्रिया