काठमाडौं । देशका विभिन्न स्थानमा एकैदिन दुई जनाको मृत्यु भएको छ । अवैध कारोबार तथा विभिन्न घटनामा संलग्न २१ जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–११ दूधेस्थित साकिरा यातायात प्रालिको काउन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ धरमपुर बस्ने २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावती रहेका छन् । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले प्र.१–०१–०१३ प ६५८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूले काठमाडौं पठाउन भनि ल्याएको चामलको बोराभित्र लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई स्कुटरसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्रामसहित बिर्तामोड नगरपालिका–६ बस्ने २० वर्षीय सुजन विश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८० मिलिग्रामसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ ठाडी बस्ने ३२ वर्षीय हरिकुमार निरौला, ४० वर्षीय रतनमणि भन्ने रोहित चौधरी र २४ वर्षीय नागेश्वर चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्रियुगा नगरपालिका–५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ चुत्राबेशी बस्ने २१ वर्षीय रामबहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंको काठमाडौं महानगरपालिका–१६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका–२ घर भएका ६५ वर्षीय रणबहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–२ मालपोत चोक बस्ने गोविन्द शर्मा न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय सुन्दर श्रेष्ठ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३९ हजार ७० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सर्लाहीको बिष्णु गाउँपालिका–६ स्थित सडकमा बीआर ३० एडी ९८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीया सुनिता देवीको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
जाजरकोटको जुनिचाँदी गाउँपालिका–५ कटिया खोलामा सोही गाउँपालिका–५ टिप्क बस्ने ३२ वर्षीय गोरख बहादुर तिरूवा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
गत २ गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंको काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका घर भएका लक्षी शेर्पाको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई नगद २० हजार रूपैयाँ र सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका घर भएकी अम्बिका डंगोलको कोठाबाट करिब ४ लाख रूपैयाँ बराबरको सुनको विभिन्न गहना सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेव डेरा गरी बस्ने ललितपुर घर भएकी ५० वर्षीया कमला कुमारीको कोठामा कोही नभएको अवस्थामा ताला फुटाइ सुनको विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया