×

दक्षिणी गाजाको नासेर अस्पतालमा मारिएका पाँच पत्रकार को हुन् ?

images

काठमाडौँ । दक्षिणी गाजाको खान युनिसमा रहेको नासेर अस्पतालमा सोमबार इजरायली आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भयो । मृतकहरूमा अन्तर्राष्ट्रिय मिडियाका लागि काम गर्ने पाँच पत्रकार पनि मारिएका छन् । यो जानकारी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको छ ।

विश्व स्वास्थ्य संगठनले आक्रमणमा चार स्वास्थ्यकर्मीको पनि मृत्यु भएको बताएको छ । आक्रमणको फुटेजले विस्फोटपछि उद्धारकर्मीहरू घटनास्थलमा पुग्दा अर्को विस्फोट भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसलाई 'दुःखद दुर्घटना' भनेका छन् र सैन्य अधिकारीहरूले 'यसको राम्ररी अनुसन्धान गरिरहेको' बताएका छन् ।

मृत्यु भएका पत्रकारहरूले रोयटर्स, एपी, अल जजीरा र मिडल इस्ट आईका लागि काम गर्थे खुलेको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि गाजामा मारिएका पत्रकारहरूको संख्या अहिले लगभग २०० पुगेको छ ।

प्रेस स्वतन्त्रताको प्रवर्द्धन गर्ने एक अग्रणी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार गाजामा युद्ध पत्रकारहरूका लागि घातक साबित भएको छ । युद्ध सुरु भएदेखि नै इजरायलले अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजा पट्टीमा स्वतन्त्र रूपमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

केही पत्रकारहरूलाई इजरायल डिफेन्स फोर्ससँग गाजा यात्रा गर्न अनुमति दिइएको थियो, तर अन्तर्राष्ट्रिय मिडिया संस्थाहरूले गाजामा आफ्नो कभरेजको लागि स्थानीय पत्रकारहरूमा भर पर्छन् ।

नासेर अस्पतालका मेडिकल कर्मचारीहरूले पहिलो आक्रमण स्थानीय समय अनुसार बिहान १० बजे भएको बताएका छन् । अस्पतालमा काम गर्ने एक बेलायती व्यक्तिले आक्रमणपछि 'ठूलो आतंक र अराजकता' भएको बताए । उनले पहिलो विस्फोटपछि चिकित्सा कर्मचारीहरू मद्दत गर्न हतारिरहेका बेला, लगभग दस मिनेट पछि दोस्रो विस्फोट भएको बताए ।

नासेर अस्पतालमा भएको आक्रमणको भिडियो सार्वजनिक भएको छ, जसमा दक्षिणी गाजाको मुख्य अस्पतालको प्रवेशद्वारमा एक डाक्टर उभिरहेका छन् । पहिलो आक्रमण पछि पत्रकारहरूलाई देखाउन डाक्टरहरूले रगतले लतपतिएको लुगा उठाएका छन् ।

रोयटर्स समाचार एजेन्सीले छतबाट प्रत्यक्ष फिड पठाउँदै गर्दा मारिएकाहरूमा यसको क्यामेराम्यान हुसम अल-मसरी पनि रहेको बताएको छ । प्रत्यक्षदर्शीहरूले रोयटर्सका लागि फोटोग्राफरको रूपमा काम गर्ने अर्का व्यक्ति हातेम खालेद पनि दोस्रो आक्रमणमा घाइते भएको बताएका छन् । एपीले आफ्ना लागि काम गर्ने स्वतन्त्र पत्रकार मरियम डग्गाको पनि मृत्यु भएको बताएको छ । एपीले ३३ वर्षीया मरियम डग्गाको मृत्युले 'स्तब्ध र दुःखी' भएको बताएको छ । मारिएका अन्यमा अल जजीराका मोहम्मद सलामा, मिडल इस्ट आइका फ्रीलान्सर अहमद अबु अजीज र फोटोग्राफर मोआज अबु ताहा रहेका छन् । रोयटर्सले ताहाले रोयटर्स लगायत धेरै समाचार संस्थाहरूसँग काम गरेको बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यी पछिल्ला भयानक हत्याहरूले यस क्रूर द्वन्द्वको बीचमा आफ्नो कर्तव्य निर्वाह गर्ने चिकित्साकर्मी र पत्रकारहरूले सामना गर्ने जोखिमहरूलाई उजागर गरेको बताएका छन् ।

मङ्गलबार १० भदौ २०८२ ०९:१२ PM मा प्रकाशित

प्रतिक्रिया