फलेन्द्र बलम्पाकी मगर / दुबई
युएई, जुन २६ – लामो समयदेखि रोजगारी गुमाएर गैरकानुनी रूपमा युएईमा बस्दै आएका खोटाङ जिल्ला, नागी गाउँपालिका–३ का स्थायी बासिन्दा कृष्णभक्त राई, उनकी श्रीमती र पाँच वर्षीय छोरालाई नेपाली समाज, युएई र नेपाल आदिवासी जनजाति महासंघ, युएईको संयुक्त पहलमा सफलतापूर्वक उद्धार गरी स्वदेश फिर्ता गरिएको छ।
उक्त उद्धार कार्य नेपाली समाज, युएई तथा महासंघअन्तर्गत आबद्ध जातीय संघ–संस्थाहरूको विशेष पहल र राहत तथा उद्धार कोषको आर्थिक सहयोगमा सम्पन्न भएको हो। आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी परिवारलाई सुरक्षित रूपमा नेपाल फर्काइएको जनाइएको छ।
महासंघका अध्यक्ष भागरथी कुमार भगतका अनुसार नेपाली राजदूतावास, युएई र नेपाली समाज, युएईका पदाधिकारीहरूको निरन्तर समन्वय तथा अथक प्रयासबाट उद्धार कार्य सफल भएको हो। उनले आदिवासी जनजाति महासंघ, युएईले केवल पहिचान, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा मात्र नभई आवश्यक परेको बेला मानवीय सेवामा पनि अग्रसर रहने सन्देश दिएको बताए।
अध्यक्ष भगतले उद्धार अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक तथा मानवीय सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्था, अभियन्ता तथा सहयोगी व्यक्तिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
उद्धार गरिएका परिवारका पाँच वर्षीय बालकको उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै नेपाल आदिवासी जनजाति महासंघ, युएईले थप नगद आर्थिक सहयोगसमेत प्रदान गरेको जनाएको छ।
यस उद्धार अभियानलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने महासंघको उद्धार तथा राहत कोष विभागका पदाधिकारी तथा स्वयंसेवकहरूप्रति पनि महासंघले विशेष आभार व्यक्त गरेको छ।
उक्त कार्यले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरूलाई संकटको समयमा सामाजिक संस्थाहरूले निभाउन सक्ने मानवीय दायित्व र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सम्बद्ध पक्षले जनाएको छ।
प्रतिक्रिया