काठमाडौँ, १३ जेठ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, अर्थतन्त्रको सुधार, पुर्नउत्थान, रोजगारी सिर्जनालाई जोड दिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई बदल्दै राष्ट्र, राष्ट्रियता, समृद्धि, सुशासनको मार्गमा अगाडि बढ्नुपर्ने आवश्यकता आँैल्याएको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई संस्थागत गर्दै विकास निर्माणलाई गति दिनेतर्फ सरकारको नीति तथा कार्यक्रम लक्षित रहेको उहाँको भनाइ छ ।
देशको समृद्धि र विकासका लागि राष्ट्रिय सहमति एकमात्र विकल्प देखापरेको भन्दै उहाँले राष्ट्रका सामु उत्पपन्न चुनौती सहमति र एकताबाट मात्र सम्भव भएको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको अवस्था गम्भीर बन्दै गएकाले सबैले गम्भीरतापूर्वक सोचौँ, राजनीतिक दलहरुप्रति जनताका प्रश्न, आक्रोशलाई बेलैमा मनन गरौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले विशेष गरी संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्वलाई जोड दिएको छ”उहाँले भन्नुभयो ।
संसद्को अवरोध अन्त्य हुननसक्दा संसदीय कार्यभार पूरा गर्न कठिन भइरहेको बताउँदै यसबाट राष्ट्रमा थप सङ्कट र जनतामा असन्तोष बढ्दै जाने भएकाले संसद्को अतिरोध अत्त्य गर्न दलका नेता र सांसदहरुले आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा पूर्णसमर्थन रहेको जनाउनुभएको छ । संसद्मा आज उहाँले भन्नुभयो,“नीति तथा कार्यक्रमअनुसार बजेट बन्नेछ भन्ने विश्वास छ । संसदीय समितिको कार्यदेशमा सहमति भइरहेको छ । छलफलमा एक दुईवटा शब्दले अड्किएको छ । संसद्मा भइरहेको विरोध लज्जास्पद, औचित्यहीन हो ।” उहाँले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार वृद्धिको जग बसाल्ने, राजस्व बढाउने, खर्चको बेमेल मिलाउने, सामाजिक रूपान्तरणको जग अगाडि बढाउनेलगायत विषयमा केन्द्रित रहेर बजेट आउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया