संसदमा एमालेको नाराबाजी, पशुपतिको जलहारीले तनाव

    images

    काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरुले भ्रष्टाचार गरेको आरोप लगाएपछि आपत्ति जनाएको छ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले प्रतिनिधि सभाको बैठकमा बोल्दै आपत्ति जनाएका हुन्।

    सुन भनेर ओलीले पित्तलको जलहारी लगाएको दाहालको आरोपलाई गम्भीर भन्दै एमालेका सांसदहरुले उभिएर संसद बैठकमा अवरोध गरेका हुन्। 

    बैठकको सुरुमै एमाले सांसदहरुले ड्यासबाट उठेर विरोध सुरु गरे। एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षले गम्भीर आरोप लगाएको भन्दै त्यसबारे प्रष्ट नहुन्जेल संसद अघि बढ्न नदिने उल्लेख गरे। 

    ‘सदन सुचारु हुनुपर्छ। हामी पनि त्यही चाहन्छौँ। यति गम्भीर किसिमको आरोप लगाइएको छ। पशुपतिनाथमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लागेको छ’, उनले भने, ‘यसबारे छानबिन हुनुपर्छ। देशको मुख्य चुनौती भ्रष्टाचार हो। जुनसुकै पक्षको मनोबल गिराउनु छ। सदनभित्र भ्रष्टाचारका विषय मनलाग्दो गरी आएका छन्। बिनाआधार बिनाप्रमाण आरोप लगाइन्छ भने एमाले चुप बस्दैन।’
    उनले तथ्य र प्रमाणबिना लगाएको आरोप स्वीकार्य नहुने चेतावनी दिए। देशको मुख्य चुनौती भ्रष्टाचार बनेकाले देशलाई भ्रष्टाचार मुक्त नबनाएसम्म समृद्धिको यात्रा तय गर्न नसक्ने बताए।

    उनले भने, ‘एमालेले भ्रष्टाचारका विरुद्धमा देशव्यापी अभियान छेड्छ। जनतालाई सजक बनाउनुको साथै यो संसदमा पनि निरन्तर भ्रष्टाचारविरुद्ध आवाज उठाउँछौं।’

    शुक्रबार​ १२ जेठ २०८० १२:४७ PM मा प्रकाशित

    प्रतिक्रिया