×

८ दलीय गठबन्धनले बनायो कार्यदल, फागुन २३ भित्र सबै सांसदलाई काठमाडौँ बोलाइयो

images

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । साथै बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाडौँ आउन निर्देशन दिएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई काठमाडौँ बोलाउने निर्णय भएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।

बैठकले आठ दलका एक एक जना प्रतिनिधि रहने गरी एक कार्यदल बनाउने र त्यसले पार्टीभित्र र अन्तर पार्टी छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ । 

बैठकले संघ तथा प्रदेशसभाका सांसदहरूलाई फागुन २३ गते सम्म काठमाडौँ आइसक्न निर्देशन दिएको छ । २४ गते सबै सांसदलाई काठमाडौँमा ब्रिफिङ गरिने र रामचन्द्र पौडेललाई मत दिन भनिने नेता श्रेष्ठले जानकारी दिए । 

आइतबार​ १४ फागुन २०७९ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया