सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् । सोमबार सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए। सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।
नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए । “अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उनले भने, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”
काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारे ।
सर्लाहीबाट पहिलोपटक निर्वाचन लड्दै गरेका थापाले आइतबार सर्लाहीको चुनावी भेटघाट कार्यक्रममा कुनैबेला बुवालाई सप्तरीका शिक्षकले गणित पढाएर इन्जिनियर बनाएको, तर अहिले त्यहिँ मधेशको शिक्षा खस्किएकोप्रति औँधी चिन्ता प्रकट गरे ।
‘मेरा बाहरूलाई सोलुखुम्बुको पहाडमा गएर सप्तरीको गणित शिक्षकले गणित पढाउनुभयो र मेरो बा इन्जिनियर बन्न सक्नु भयो,’ उनले भने, ‘त्यो इतिहास भएको मधेसमा आज गणित, विज्ञान र अंग्रेजमा सबैभन्दा कमजोर मधेसका विद्यार्थी भएको अवस्था छ ।’
सभापति थापाले आफू प्रश्न उठाउनेमात्र नभई उत्तर र समाधान दिने गरी मधेस झरेको पनि बताए । उनले भने, ‘म प्रश्न मात्र उठाउने गरी होइन, त्यसको उत्तर खोज्ने र समाधान दिने गरी तपाईँहरूको प्रतिनिधि बन्न आएको हुँ ।’
थापासँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह चुनावी मैदानमा छन् । यो क्षेत्रलाई निकै रोचक चुनावी मैदानका रुपमा हेरिएको छ ।
प्रतिक्रिया