×

रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहीबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको हो।

रास्वपाले आज अपरान्ह १ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेको छ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन्। पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन। स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए। तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन्।

बिहीबार पत्रकार सम्मेलनमा रास्वपा सहप्रवक्ता मनीषा झाले कानुन पनि कानुनसम्मत भइदिनुपर्ने र राजनीतिक प्रतिशोध हुन नहुने बताए। उनले आफूहरू सदनबाट आवाज उठाउने ठाउँमा रहेकामा अहिले संसद् पनि बन्द रहेको विशेष समितिहरू पनि ‘पंगु’ भएकाले न्यायका लागि सडकमा ओर्लिएको स्पष्ट पारे । काठमाडौं माइतीघर मण्डलामा हुने आन्दोलन भने शान्तिपूर्ण नै हुने उनले बताए।

उनले संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा ४० सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको बाहिरिएको स्मरण गराउँदै ८७ अर्ब रुपैयाँको कुरा नगर्ने, खाली १५ प्रतिशत मात्र गोर्खा मिडियाको स्वेट सेयर लिएका लामिछानेलाई मात्र थुन्न नमिल्ने बताए ।

८७ अर्ब रुपैयाँमध्ये गोर्खा मिडियामा ६५ करोड गएकामा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने हुँदा २२ करोडमध्ये त्यसको १५ प्रतिशत मात्र स्वेट सेयर लिएको बताए । उनले भने, ‘हामी ८७ अर्ब रुपैयाँमै चर्चा गराैं न, सबैलाई समातौं ।’ उनले राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरसमेत मुछिएको उल्लेख गर्दै उनलाई कारबाही नगरेको बताए ।

रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएपनि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पहराईको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्न अनुमति दिएको हो।

अदालतले छविलाल जोशी, रवि लामिछाने, दीपक लामा, अनन्त बाबु राई, श्री बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछानेसहित १२ जनाविरुद्ध गत असोज ५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तासमेत रहेका पहराईले पूरक जाहेरी दिएका थिए ।

सहकारी संस्थाको बचत रकम यी विपक्षीहरु शेयर सदस्य सञ्चालक समितिका पदाधिकारी र बैंकिङ कारोबारमा आधिकारिक हस्ताक्षरकर्ताहरु भएको मिसिल संलग्न कागजातबाट देखिएको पक्राउ आदेशमा उल्लेख छ।

शुक्रबार​ ९ कात्तिक २०८१ ०८:५१ AM मा प्रकाशित

प्रतिक्रिया