×

ब्रेकिङ: रास्वपा महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक, डा. वाग्ले सर्वाधिक २६५६ मतसहित विजयी; अब पदाधिकारी चयनको प्रक्रिया सुरु !

images

भरतपुर (चितवन), ११ असार ।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ। इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) र प्रवासमा रहेका प्रतिनिधिहरूको मोबाइल एपमार्फत् भएको मतदानको गणना सकिएसँगै रास्वपा निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गरेको हो।

पार्टीको नयाँ विधान अनुसार कुल १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिएका छन्। बाँकी सदस्यहरू भने पार्टी सभापतिद्वारा मनोनीत हुने प्रावधान छ। 

डा. स्वर्णिम वाग्लेलाई सर्वाधिक मत

सार्वजनिक मत परिणाम अनुसार निवर्तमान उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन्। चितवन महाधिवेशन स्थलमा भएको मतदान र प्रवासबाट मोबाइल एपमार्फत भएको इ-भोटिङ दुवै तर्फबाट वाग्लेले कुल २ हजार ६ सय ५६ मत प्राप्त गरेका हुन्। उनले प्रवासका प्रतिनिधिहरूबाट शतप्रतिशत मत पाएका थिए।

७६.८० प्रतिशत मतदान, ३७९ उम्मेदवार मैदानमा

रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार ९९ केन्द्रीय सदस्यका लागि कुल ३७९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। महाधिवेशनमा कुल मतदाता संख्यामध्ये २ हजार ९ सय ५९ जनाले मतदान गरेका थिए, जुन कुल मतको ७६.८० प्रतिशत हो। विद्युतीय प्रविधिको प्रयोगका कारण मतदान सकिएको केही घण्टामै आयोगले परिणाम तयार पारेको थियो।

अब पदाधिकारी चयनको दोस्रो चरण सुरु हुने

पहिलो चरणको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएसँगै अब महाधिवेशन दोस्रो चरणको निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ। रास्वपाको संशोधित विधान अनुसार केन्द्रीय सदस्यमा निर्वाचित भएका ९९ जना मध्येबाटै अब शीर्ष पदाधिकारीहरू चयन गरिनेछन्।

दोस्रो चरणको निर्वाचनमार्फत २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री गरी ६ जना प्रमुख पदाधिकारीहरू चयनका लागि आजै राति मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ। पार्टी सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

बिहीबार ११ असार २०८३ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया