काठमाडौं । पतञ्जली योग पीठ जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले पूर्व प्रधानमन्त्री माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन् ।
आज (बुधबार) विशेष अदालतका न्यायाधीशत्रय तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासमा अध्यक्ष नेपालको बयान भएको थियो । बयान सकिएलगत्तै उनको थुनछेक बहस भएको थियो ।
थुनछेक बहसको क्रममा सबैभन्दा पहिला वरिष्ठ अधिवक्ता पन्तले अख्तियारको तर्फबाट बहस गरे । पन्तले हदवन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्नका लागि दिएको स्वीकृती नीतिगत निर्णय मान्न नसकिने जिकिर गरे ।
पतञ्जली योग पीठ जग्गा प्रकरण नीतिगत निर्णय नभएर व्यक्तिगत स्वार्थप्रेरित निर्णय रहेको जिकिर गर्दै उनले भने,‘प्रधानमन्त्रीको ठाडो आदेशबाट भएको हो । राज्यलाई ठूलो हानी पुर्याउने गरी संगीन काम गरेको हुँदा उहाँलाई थुनामा राखेर मुद्दा अगाडि बढाइनुपर्छ ।’
प्रतिक्रिया