×

पुनः म्याद थपको लागि रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

images

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ ।

संसदीय छानबिन विशेष समितिले पनि उनीहरुलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस लगत्तै रवि र छविलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जीबी फरार छन् । चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप रवि लामिछानेलाई छ । जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट रवि लामिछानेकै नाममा कुनै पनि कर्जा गएको देखिएको छैन । तर यी सहकारीको रकम गोर्खा मिडिया प्रालिमा गएको देखिएको र त्यसपछिको कारोबार तथा खर्चमा रवि पनि जोडिएकाले उनी अनुसन्धानको दायरामा परेका हुन् ।
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनेमा प्रहरी छ। कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीलगायतको रकम अपचलनमा उनीमाथि प्रहरी अनुसन्धान भइहरेको छ।

यतिबेला रविको समर्थनमा उनलाई पछ्याउनेहरूको संख्या घट्दै गएको छ। जनताले साथ नदिने भएपछि मंसिर ८ बाट गर्ने भनिएको प्रदर्शन रास्वाले स्थगित नै गरिसकेको छ। कार्यवाहक प्रवक्ता मनीष झा प्रदर्शन जारी राख्ने निर्णय भए पनि स्वरूप फेरिने बताउँछन्।

अदालतको आदेशमा फौजदारी कसुरको अनुसन्धानको प्रक्रिया अघि बढिरहेका बेला सडकबाट दबाब दिन खोजेको भन्दै रास्वपाको आलोचना बढेसँगै उ हच्किएको छ।

आइतबार​ ९ मंसिर २०८१ ०९:२० AM मा प्रकाशित

प्रतिक्रिया