×

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

images

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले बताए । केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

सिआइबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै भाषण गरेका थिए। उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट 'स्क्रिनसट'समेत देखाएका थिए। 

महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो ।

आइतबार​ ९ मंसिर २०८१ ०६:४९ PM मा प्रकाशित

प्रतिक्रिया