×

दुर्गा प्रसाईंको घरमा छापा मार्नुको कारण र बरामद सामानसहित उपस्थित हुन सर्वोच्चको आदेश

images

काठमाडौं — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको घरबाट बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ।  

प्रहरीले भदौ ४ गते प्रसाईंको भक्तपुरस्थित निवासमा खानतलासी गरी विभिन्न इलेक्ट्रोनिक्स उपकरण तथा कागजातहरू नियन्त्रणमा लिएको थियो। उक्त कार्य गैरकानुनी र स्वेच्छाचारी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो।  

सर्वोच्चको आदेशमा खानतलासीका क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोबाइल, ल्यापटप, CCTV फुटेजका डिभाइस लगायतका सम्पूर्ण सामानहरू सुरक्षित रूपमा अदालत समक्ष पेस गर्न भनिएको छ। साथै, के कुन आधार र कानुनी प्रक्रिया पुर्‍याएर घर खानतलासी गरिएको हो, सोको स्पष्ट कारण र प्रमाणसहित लिखित जवाफ प्रस्तुत गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको छ।  

यसअघि, जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति प्रसाईंको घरमा पुगेर विभिन्न इलेक्ट्रोनिक डिभाइसहरू नियन्त्रणमा लिई विधि विज्ञान प्रयोगशाला (Forensic Lab) मा परीक्षणका लागि पठाएको बताएको थियो। तर कानुनी प्रक्रिया उल्लङ्घन गरी घरमा छापा मारिएको भन्दै प्रसाईं पक्षले कानुनी उपचार खोजेका हुन्।  

अदालतको यो आदेशसँगै अब प्रहरीले बरामद गरिएका सामग्री, खानतलासीको मुचुल्का र सम्बन्धित कागजातसहित तोकिएको समयभित्र सर्वोच्च अदालतमा उपस्थित हुनुपर्नेछ।  

सोमबार ८ भदौ २०८३ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया