×

रुसमा वाग्नरका प्रमुख प्रिगोजिन सवार विमान दुर्घटना, सबै यात्रुको मृत्यु

images

एजेन्सी । रुसको उड्डयन अधिकारीहरूले वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन सवार एक विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको बताएका छन्। विमान सञ्चालक निकायले दिएको जानकारी अनुसार त्यसमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि सवार थिए।

उनीहरूको मृत्यु भएको बारे क्रेम्लिन वा सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छैनन्। तर आपत्कालीन सेवा प्रदायकहरूलाई उद्धृत गर्दै विमानमा रहेका सबै १० जनाको शव फेला परेको जनाइएको छ। तिनको परिचय भने खुलाइएको छैन। मस्कोको उत्तरी भेगमा बुधबार निजी विमान दुर्घटनामा परेकोथियो ।

विमानमा भाडाका सिपाहीको समूह वाग्नर ग्रुपका प्रमुख येभेग्नी प्रिगोजिनसमेत चढेको हुनसक्ने अन्तरराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालको एक अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ र त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ।

जुनमा छोटो समयका निम्ति उनले अगुवाइ गरेको विद्रोहको घटनापश्चात् येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन्। पछिल्लो पटक यही साता जारी एक भिडिओमा उनी अफ्रिकामा रहेको बताइएको थियो। 

 निजी जेट दुर्घटनाग्रस्त भएको ठाउँमा ८ वटा शव भेटिएको रूसी मिडियालाई उधृत गर्दै अल जजिराले लेखेको छ । उसले रुसको सरकारी समाचार एजेन्सी आरआईएले आपतकालीन सेवालाई उद्धृत गर्दै रुसी भाडा प्रमुख येभगेनी प्रिगोजिनलाई यात्रुको रूपमा सूचीबद्ध गरेको निजी जेटको दुर्घटनास्थलमा आठ शव भेटिएको जनाएको हो । 

युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रुसी सैन्य संस्थापनसँग चर्को झगडा भएको देखिन्थ्यो। बारम्बार उनले रुसी जर्नेलहरूलाई अश्लील गाली गर्ने गर्थे र संसारभरि उनको नाम चर्चित भएको थियो। राष्ट्रपति पुटिनसँगको समझदारीअनुसार उक्त विफल विद्रोहपश्चात् उनी बेलारुसमा गएर बस्ने बताइएको थियो।

युवा अवस्थामा जेल परेका उनी पछि सफल रेस्टुराँ व्यवसायी बने। पुटिनसँगको निकटताका कारण उनलाई पुटिनको ‘शेफ’ वा भान्से पनि भनिन्थ्यो। वर्षौँसम्म उनले वाग्नर समूहसँग आफ्नो सम्बन्ध अस्वीकार गर्दै आएका थिए। तर गत वर्षको सेप्टेम्बरमा उनले वाग्नरको स्थापना आफैँले गरेको बताए। सन् २०१४ मा पहिलो पटक वाग्नरको उपस्थितिबारे थाहा भएदेखि नै उक्क समूह बर्बरताका निम्ति कुख्यात भयो।

उक्त समूहका लडाकुहरू युक्रेन, सिरिया अनि पश्चिम अफ्रिकी देशका युद्धहरूमा खटाइएका छन् जहाँ तिनले क्रूर यातना दिएका अनि गैर न्यायिक हत्या गरेका आरोप लागेका छन्। वाग्नरका कैयन् लडाकुहरू जेल परेका अपराधीहरूबाट चयन गरिने गरिएको बताइन्छ। तिनले जेल जीवन जिउनुको साटो वाग्नरमा भर्ना हुने छनोट गर्न पाउने बताइन्छ। 


वाग्नरका नाइके मारिएको हुनसक्ने विमान दुर्घटनाका विवरणबारे रुसभित्र खासै आश्चर्य प्रकट नभएको देखिने सम्वाददाता विल भर्ननले जनाएका छन्। खासमा यस्तो घटना हुन यत्तिका दिन लागेकामा बरु उनी छक्क परेका थिए, भर्नन भन्छन्। ठ्याक्कै दुई महिना अगाडि प्रिगोजिनले छोटो समयको विद्रोहको अगुवाइ गरे यता नै अब उनको भविष्य कहाँ पुगेर टुङ्गिएला भन्ने चर्चा रुसभित्र निकै चलेको थियो। विमान दुर्घटना भएको एक घण्टा नबित्दै रुसी उड्डयन निकायले विज्ञप्ति जारी गर्दै प्रिगोजिनको नाम यात्रुको सूचीमा रहेको जनाएको थियो।

अरू बेला उक्त निकायले त्यति छिटो जानकारी दिने गर्दैनथ्यो। यसबीच अमेरिकी राष्ट्रपति जो बाइडनले खासमा के घटना भएको हो भन्ने आफूलाई थाहा नभएको भए पनि रुसमा हुने कुनै पनि घटनामा पुटिन जिम्मेदार हुने उल्लेख गरे।

युक्रेनका राष्ट्रपतिका निकट सहयोगी माइखालो पोदोल्याकले यदि समाचार सत्य हो भने त्यसले क्रेम्लिनविरुद्ध जानेलाई मृत्युदण्ड दिइने सङ्केत दिने बताए। निर्वासनमा रहेकी बेलारुसकी विपक्षी नेता स्भेतलाना तिखानोभ्सकायाले प्रिगोजिन एक हत्यारा भएकाले तिनलाई त्यसैगरी सम्झनु उचित हुने बताइन्।

द इकोनोमिस्टका रक्षा सम्पादक शशाङ्क जोशीले राज्यलाई द्रोह गरेका ठानिएका जस कसैका विरुद्ध कारबाही गर्ने रुसी सरकारको पुरानो अभ्यास रहेको बताए। ब्रिटेनको बाह्य गुप्तचर निकाय एमआइसीक्सको रुसी इकाइका पूर्व प्रमुख क्रिस्टोफर स्टिलले प्रिगोजिनको अन्त्य यस्तै हुने कुरा लगभग तय थियो भनेका छन्।

बीबीसीसँग बोल्दै उनले उच्च सुरक्षा अधिकारीहरूले शायद पुटिनकै स्वीकृतिमा विमान खसाल्न आदेश दिएका हुनसक्ने बताए।  बीबीसी

 

बिहीबार ७ भदौ २०८० ११:२० AM मा प्रकाशित

प्रतिक्रिया