×

जुम्लामा चलचित्र 'प्रकाश' 

images

जुम्ला ।  चलचित्र ‘प्रकाश’ को ‘प्रिमियर सो’ जुम्लाको डिल्लीचौरमा गरिएको छ । चलचित्रको छायाङ्कन गरिएको तिर्खु गाउँ नजिकको विद्यालय ऋणमोक्ष मावि डिल्लीचौरमा आइतबार राति प्रिमियर सो देखाइएको हो ।

दुई घण्टा समय अवधिको उक्त चलचित्र ४५ दिन लगाएरै गत वर्ष चैत र वैशाखको महिनामा जुम्लाको तिर्खु गाउँमा छायाँकन गरिएको थियो । प्रिमियर सोमा ‘प्रकाश’ चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदी जुम्ला पुगेर तिर्खु गाउँमा ‘प्रिमियर सो’ प्रदर्शन गर्नुभएको छ । जुम्लामा खसभाषाको अधिकतम प्रयोग, स्थानीय पोसाक तथा संस्कृतिको उजागर गरिएको उक्त चलचित्र स्थानीयवासीकै उपस्थितिमा प्रदर्शन गरिएको छ । सो प्रदर्शनलाई आयोजकले ‘वल्र्ड प्रिमियर सो’ भनेर जानकारी दिएको छ ।

आइतबार राति ८ बजेबाट १० बजेसम्म प्रदर्शन गरिएको उक्त सोमा पातारासी गाउँपालिकाको तिखु गाउँ र नजिकका गाउँका स्थानीयको समेत सहभागिता रहेको बताइएको छ । चलचित्रमा विद्यालयमा गरिने राजनीतिको चित्रण तथा रोजगारका लागि सर्वसाधारणले पाउने सास्तीको विषयमा उल्लेख गरिएको छ ।

कथा लेखक सुबेदीका अनुसार चलचित्र, भारत, अमेरिका, जापान, अष्टे«लियालगायतका दर्जनौँ देशमा एकैसाथ प्रदर्शन गरिनेछ । गीत, ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको आयोजकले जनाएको छ । नायक खड्काले शिक्षा, स्वास्थ्य, रोजगार र विकास निर्माणमा राज्यबाट ओझेलमा परेको कर्णालीको जुम्लालाई पर्दामार्फत राज्यको मूल प्रवाहमा ल्याउन, बिम्बात्मक रूपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको बताए ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायतका कलाकार मुख्य भूमिकामा छन् । यस्तै जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार, धनराज सुनार, पूर्णप्रसाद चौलागाई, राजकली महतलगायतले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रलाई महेन्द्र अधिकारीले निमार्ण गरेका हुन । 

बुधबार ८ भदौ २०७९ ०८:१४ AM मा प्रकाशित

प्रतिक्रिया