×

गगन थापाको आग्रह: 'सत्य जान्ने नागरिकको अधिकार हो, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर'

images

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले २०७३ सालमा गठित उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) को प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले प्रतिवेदन सार्वजनिक नहुँदा मधेस तथा थरुहट आन्दोलनका घटनाको सत्यतथ्य बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको बताएका हुन्।२०७४ सालदेखि हरेक वर्ष प्रतिवेदन सार्वजनिक गर्ने आवाज उठे पनि र चुनाव अघि प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि राजनीतिक दलहरूले यसलाई कार्यान्वयन नगरेको थापाले स्वीकार गरे।

 "विगतको कमजोरी आज प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन। यसपटक यो विषय प्रतिबद्धतामा मात्र सीमित नहोस्," थापाले उल्लेख गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै उनले अब थप विलम्ब नगरी प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

२०७३ असोजमा मधेस र थरुहट आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी तथा मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा ‘लाल आयोग’ गठन गरिएको थियो। आयोगले बुझाएको प्रतिवेदन करिब एक दशक बित्न लाग्दा पनि सार्वजनिक हुन सकेको छैन।

सोमबार ८ भदौ २०८३ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया