काठमाडौँ- काठमाडौँको लाजिम्पाटमा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुईजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो। नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो । उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो ।
जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भएका थिए । पक्राउ परेका अर्का प्रतिवादी पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए । आक्रमणमा संलग्न समूह अजयकै योजना र निर्देशनमा परिचालित भएको खुलेको छ। उनीहरू आक्रमणपछि झापा पुगेर दुर्गा प्रसाईँको घरमा लुकेका थिए। तर खोज्दै प्रहरी पुगेपछि उनीहरू भने त्यहाँबाट भाग्न सफल भएका थिए। दुर्गा प्रसाईँको घरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।
त्यसपछि भारत भागेका दुवै जनालाई प्रहरीले हरियाणाबाट पक्राउ गरिएको जनाएको छ। उनीहरूसहित ७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उनीहरूलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिन पनि अदालत समक्ष माग गरिएको छ।
अर्का दुई प्रतिवादी लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार छन् ।
प्रतिक्रिया