काठमाडौं । ब्राह्मण परिवारका डाक्टर सन्तोष सापकोटा र नेवार परिवारकी नर्स अमिता श्रेष्ठबीच प्रेम पलाउँछ। तर घरमा के भन्लान् र लोकले के भन्ला भन्ने पिरलोमा पर्छन्। 'स्वप्नदेश' अमेरिका समाधानको मार्ग बन्ला कि भन्ने लाग्छ। छुट्टाछुट्टै आवेदन गरे पनि संयोगवस दुवैले भिसा पाउँछन्, अमेरिका पुग्छन्।
यो झण्डै दुई दशक अघिको कुरा हो। उनीहरू उतै बिहे गर्छन्। उतै सन्तान जन्माउँछन्। स्वास्थ्यकर्मीको तुलनात्मक रूपमा आकर्षक कमाइ र विकसित देशको स्वतन्त्र बसाइ थियो उनीहरूको। र पनि स्वदेश र बाबुआमाको मायाको रन्कोले छोडेन। नेपाल हुँदा अमेरिका जाने उत्कट चाहना, अमेरिकामा भने सँधैभरि नेपालकै झझल्को र कहिले आफ्नै ठाउँ फर्की जाउँ भन्ने हुटहुटी चलिरहन्छ।
संसारभर कोभिड महामारी फैलँदा यी स्वास्थ्यकर्मी जोडीले निधो गरे, 'अब आफ्नै गाउँ फर्की जाने हो।' १८ वर्ष लामो कर्मदेशको बसाइ टुङ्ग्याउँदै केही समय अघि अमेरिका छोडेर जन्मदेश फर्केका छन् उनीहरू।
दुई साता नबित्दै उनीहरूका छोराछोरी स्कुल भर्ना भए। उनीहरूलाई भाषिक, सांस्कृतिक र सामाजिक रूपमा घुलमिल गराउने जिम्मेवारी अमिताले आफ्नो काँधमा थापेकी छन्।
सन्तोष गण्डकी विश्वविद्यालयका कुलपतिको सल्लाहकार नियुक्त भएका छन्। साथै उनले गण्डकी विश्वविद्यालयको आविष्कार केन्द्र सम्हाल्ने भएका छन्।
यस जिम्मेवारीलाई आफूमाथिको विश्वास ठान्छन् सन्तोष। उनीबारे आविष्कार केन्द्रका प्रमुख महावीर पुन भन्छन् 'एउटा प्रस्ट उद्देश्य र दृष्टिकोण भएका मानिस केन्द्रसँग जोडिएका छन् जसले अमेरिकाबाटै केन्द्रका लागि लाखौँको सहयोग जुटाएका थिए। अब ती मानिसले गण्डकीमा स्थापित आविष्कार केन्द्र हाँक्नेछन्।'
हजारौँ नेपालीहरू हरेक दिन काम र सहज जीवनको खोजीमा विदेशिँदै गर्दा आफ्नै देशको माटोले तानेर फर्की आउनेको सङ्ख्या पनि सयौँ भइसकेको छ। तीनैमध्येका प्रतिनिधि पात्र हुन् सन्तोष र अमिता। खासमा किन सन्तोष र अमिताले सपरिवार नेपाल फर्कने निर्णय गरे ? बीबीसी
प्रतिक्रिया