×

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता लामाले दाबी पेस गर्दै

images

हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गर्ने भएका छन्।

कांग्रेस र नेकपा एमालेको समर्थनमा लामाले मुख्यमन्त्री पदमा आज प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका हुन्। सोमबार नै दावी पेश गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमाले भित्रको आन्तरिक समस्याका कारण यो कार्यक्रम स्थगित भएको थियो।

नयाँ सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन्। यस सहमतिपछि आज बिहान ११ बजे लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मंगलबारसम्मको समय दिएका थिए। सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन्। प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ।

मङ्गलबार ८ साउन २०८१ १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया