काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मा लक्षित टिप्पणी गर्दै आफूसँग सिँगौरी खेलेको टिप्पणी गरेका छन् ।
बुधबार पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनार्दनप्रति लक्षित गर्दै सिँगौरी खेलेको आरोप लगाएका हुन् ।
प्रचण्डले अहिले केहि साथीले सिँगौरी खेलेको बताउदै आफुले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएको बताए । प्रचण्डले भने- 'मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । अब नेतृत्व छोडी दिउँ कि क्या हो ? भन्ने लाग्छ, फेरि एक मनले सोच्छु, मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ ।'
यस अघि मंगलबार एक राष्ट्रिय सभा गृहमै आयोजित गोष्ठीमा जनार्दनले पार्टीमा केन्द्रीयता हावी भएको र पटक पटक सरकारमा गएर पनि पार्टीको नीति र संबिधान अनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको कडा आलोचना गरेका थिए । शर्माले अब पार्टीको नेतृत्व नै बदल्नुपर्ने मात्र बताएनन् त्यसका लागि आफु तयार रहेको समेत बताएका थिए ।
प्रचण्डले जनार्दनको नाम नलिएर ३६ वर्ष के गर्यो भन्नेलाई माओवादी धारलाई २०४८ मा एकताबद्ध गरेको, २०५२ सालमा विद्रोह गरेको, २०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गरेको भन्ने जवाफ फर्काएका थिए ।
प्रतिक्रिया