×

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त, शपथ ग्रहण बुधबार

images

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन्। 


काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्।

मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्, लामालाई नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थन रहेको छ। ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले साउन ६ गते दुई दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल हुन लागेका छन्। कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले बाँकी ६ मन्त्रालय लिने सहमति छ।

लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि बुधबार नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालय र कांग्रेसका अन्य ६ जना मन्त्रीको पनि बुधबार शपथ ग्रहण हुने भएको हो ।  

कांग्रेसको भागमा परेको ६ मन्त्रालयमा को–को मन्त्री जाने भन्ने विषय टुंगिन सकेको छैन । कांग्रेसको ६ मन्त्रालयका लागि दर्जनभन्दा बढी सांसदहरूको नाम चर्चामा रहेको छ । आकांक्षी बढी हुँदा कांग्रेसले मन्त्री टुंग्याउन सकेको छैन । 

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीले शपथ ग्रहण गर्नेछन् ।


 

मङ्गलबार ८ साउन २०८१ ०६:५६ PM मा प्रकाशित

प्रतिक्रिया