काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य शिव नेपालीले मानव तस्करी मानवताको घोर अपमान रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो प्रकारको जघन्य अपराध सरकारकै संरक्षणमा सञ्चालित भइरहेको आरोप लगाए । उनले यस्तो प्रकारको गम्भीर अपराधमा पनि दुई ठूला दल मिलेर बनेको सरकार मौन बस्नुले सरकारकै संलग्नता पुष्टि गर्ने उनको भनाइ छ ।
‘मानव तस्करीको जघन्य, संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ । भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा बेचबिखन गर्ने तस्करी यो अपराधमात्रै होइन, मानवताको घोर अपमान हो । यो र्याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ । दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजेको छ । यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूलो दलको सरकार किन मौन छ ? यो सरकारको अपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन ? कि यो तपाईँहरुको लाचारीपनको संकेत हो ?’ प्रश्न गर्दै उनले भने ।
नेता नेपालीले आफूहरु कुनै दल र नेताको विरोधमा नभएर मानव तस्करीविरुद्धमा रहेको बताए । उनले नेपाललाई मानव तस्करीको ट्रान्जिट बनाउने छुट कसैलाई नरहेको बताए ।सरकारले तुरुन्तै उच्चस्तरीय संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने उनको माग छ । सरकारले आफूहरुको आवाजलाई दवाउने र शक्ति देखाउने खेल खेल्न बन्द गर्नुपर्ने उनले बताए । उनले आफूहरुको माग प्रष्ट रहेको र सदन बहिस्कार जारी राख्ने बताए ।
‘हामी कुनै दल वा नेताको विरोधमा होइनौं । हामी राष्ट्रको गरिमा र जनताको जीवनको पक्षमा दृढरुपमा उभिएका छौं । मानव तस्करी, भ्रष्टाचार र कुशासनविरुद्ध हाम्रो अडान स्पष्ट छ । तर, जनताको पक्षमा बोलेको भन्दै हाम्रो दवाउने र धम्क्याउने काम भइरहेको छ । सरकारले अब जनताको मुद्दा उठाउनु अपराध मान्न थालेको हो ?’ प्रश्न गर्दै उनले भने ।
प्रतिक्रिया