×

आज श्रीपञ्चमी, देशभर सरस्वती पूजा गरेर मनाइँदै

images

काठमाडौं । यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

 विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर शुक्रबार श्रीपञ्चमी पर्व मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने यस पर्वमा सरस्वती मन्दिरहरूमा पूजा गर्नेहरूको भिड लाग्छ । वसन्त पञ्चमीका दिन विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम राखेका छन् ।

संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग-कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ । श्रीपञ्चमीका अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वसन्त श्रवण गर्ने कार्यक्रम छ । वसन्त श्रवणमा उपराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ ।

ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ ।

शुक्रबार​ १० माघ २०८२ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया