काठमाडौ । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित जसौलीमा मृत भेटिएकी रिंकु कुमारीको हत्या भएको प्रहरीको अनुसन्धानले निष्कर्ष छ । ३० वर्षीया रिंकुको शव सडकमा रगतपच्छे भएर लडेको अवस्थामा भेटिएको थियो । रिंकुको हत्यामा उनका पति ३४ वर्षीय कुशल दास संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
हत्या आरोपमा पति कुशल र देवर भरत दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डीएसपी) दीपक गिरीले रातोपाटीलाई बताए । डीएसपी गिरी भन्छन्, ‘कुशलले हत्या पछि शव व्यवस्थापन गर्न भाइ भरतको सहयोग लिएको देखिन्छ ।’
रिंकु विवाहेत्तर सम्बन्धमा रहेको थाहा पाएपछि उनीहरूको बीचमा विवाद बढेको थियो । घरमा बिजुलीको नांगो तार तयारी अवस्थामा राखेर साँझ सुत्ने कोठामा कुशलले श्रीमीलाई करेन्ट लगाएर योजनाबद्ध हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यापछि शव ब्यवस्थापन गर्न उनले भाइलाई बोलाए । जिप चलाउने भाइसँग मिलेर उनीहरुले रिंकुको शव सडकमा ल्याएर दुर्घटनामा परेको देखाउन गाडीले किचेको डीएसपी गिरीले बताए । उनले भने, ‘हत्यापछि ना.३ च ६२४७ नम्बरको बोलेरोले ठक्कर दिएर दुर्घटना पुष्टि गर्न खोजेको देखिन्छ ।’
कुशल पनि हेभी गाडी चालक हुन् । शवलाई ठक्कर दिएपछि जिप वीरगञ्ज महानगरपालिका–१७ अलौस्थित शिवम ह्याचरीमा लुएको अवस्थामा प्रहरीले बरामद गरेको छ । मृतकको बायाँ हातमा बिजुलीको तारले जलाएको भेटिएको छ ।
प्रतिक्रिया