इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता "चाँडै" टुङ्गोमा पुग्ने आशा व्यक्त गर्नुभएको छ । उहाँले यस विषयमा भएको घटनाक्रमको विकास बारे छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गर्नुभएको हो ।
"हामी यस विषयमा प्रगति गर्दैछौं," नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको रिहाइ र लामो अस्थायी युद्धविरामको बदलामा केही बन्धकहरूलाई मुक्त गर्न सम्झौतामा हस्ताक्षर गर्न कतारको मध्यस्थता प्रयास बारे भन्नुभयो- "मलाई आशा छ छिट्टै शुभ समाचार आउनेछ ।" इजरायल-लेबनान सीमा नजिकको भ्रमणका क्रममा उहावको सो प्रतिक्रिया सार्वजनिक भएको हो ।
इजरायलको मन्त्रिपरिषद्को युद्ध विरामम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै यी विशेष बैठकहरू "हाम्रा बन्धकहरूको रिहाइ सम्बन्धी घटनाक्रमको छलफलका बारेमा" बोलाइएको उल्लेख गरेको छ। यस सम्झौतालाई सुरक्षा क्याबिनेट र सरकार दुवैमा छलफलमा ल्याई निर्णय गर्नुपर्ने प्रावधान छ।
यसअघि हमासका नेता इस्माइल हनियाहले समूहका अधिकारीहरू इजरायलसँग "युद्धविराम सम्झौतामा पुग्न नजिक" रहेको र हमासले कतारलाई आफ्नो प्रतिक्रिया पठाएको इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी समाचारले उल्लेख छ। कानका अनुसार सम्झौतामा इजरायली जेलबाट महिला र किशोर प्यालेस्टिनी बन्दीहरूको रिहाइको सट्टामा हमासले बन्दी बनाएका करिब ५० नागरिकको रिहाइ गर्दै जारी लडाइ केही दिनका लागि रोक्ने छ।
गत अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको अप्रत्याशित आक्रमणमा सर्वसाधारण, सैनिक, बालबालिका, महिला र विभिन्न राष्ट्र र समुदायका गरी करिब २४० बन्धकहरूलाई गाजामा लगिएको थियो। आक्रमणमा करिब १,२०० मानिस मारिएका थिए जसमा अधिकांश सर्वसाधारण मानिस थिए। सोही दिन इजरायलले शुरु गरेको ठूलो आक्रमणदेखि, गाजा पट्टीमा कम्तिमा १३ हजार मारिएका छन्।
प्रतिक्रिया