काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै उनले अब त्यस्ता पपुलिष्ट कुरा नगर्न अनुरोध गरे ।
केन्द्रीय समितिको बैठकमा बुधबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्न म अनुरोध गर्छु । आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो । त्यतिबेलादेखि माला जपेको हो । एउटा एकता गर्दा दुईवटा फुट्छ ।’ पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गर्दै उनले वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको बताए ।
ओलीले भने, ‘यो वामपन्थी शक्ति नमिली हुँदैन भन्ने कुरा पपुलिष्ट कुराहरू हुन् । नगर्न म साथीहरूलाई आग्रह गर्छु । वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र ? मैले राजनीतिक सुरू गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो । त्यहाँदेखि वामपन्थी एकताको माला जपेको । वामपन्थी एकता जति गरायो त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो । त्यतिबेला त्यो अवश्यक थियो। होइन भने हामी सरकार गठन गर्न सक्दैनथौं । काम गर्न सक्दैनथ्यौं । हाम्रो नीति यी हुन् भन्न सक्दैनथ्यौं ।’
साथै ओलीले भक्तपुरको एक पार्टी प्यालेसबाट महिलाहरूलाई निकाल्ने काममा युवा संघको संलग्नता नभएको दाबी गरेका छन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमालेलाई विभिन्न झुट्टा आरोप लगाएर बदनाम गर्ने काम भइरहेको बताए। ‘अहिले स्वार्थी तत्वहरू सडकमा खुलेआम छन्, हामीलाई बदनाम गराउन लागिपरेका छन्,’ ओलीले भने, ‘भिडिओ आएपछि मैले युवासंघका साथीहरूलाई फोन गरेर सोधें, उहाँहरूले पनि भिडिओ हेरेर थाहा पायौं भन्नुभएको छ, युवा संघको संलग्नता छैन भन्नुभएको छ।’
उनले घटनामा युवा संघलाई जोडिएको बारेमा संघले थप स्पष्ट पार्ने र यस्ता अमर्यादित घटनामा जसको संलग्नता भए पनि कारबाही हुनुपर्ने बताए।
प्रतिक्रिया