×

श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति बन्दै

images

काठमाडौँ — श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले अग्रता लिएका छन् । २०२२ बृहत् जनविरोध प्रदर्शबाट गोटाबाया राजापाक्षे पदमुक्त भएपछि शनिबारको पहिलो चुनाव भएको हो ।  यो बीचमा श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिएको थियो । श्रीलंकाको निर्वाचन आयोगको आँकडाअनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाएका छन् । राष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत मत ल्याए पुग्छ ।

दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पार्टी (जेभीपी) पनि सामेल छ । दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल १ प्रतिशत मत पाएका छन् । दिसानायकेले यसअघि नै आफ्ना दुई प्रमुख प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे र विपक्षी नेता सजिथ प्रेमदासाका समर्थकहरूबाट बधाईका सन्देशहरू प्राप्त गरिसकेका छन्।

परराष्ट्रमन्त्री अली साब्रीले एक्समा लेख्दै प्रारम्भिक नतिजाहरूले स्पष्ट रूपमा दिसानायकेको जितलाई औंल्याएका छन् । ‘मैले राष्ट्रपति रनिल विक्रमासिङ्घेको लागि धेरै प्रचार गरे तापनि श्रीलंकाका जनताले आफ्नो निर्णय गरिसकेका छन्, र म अनुरा कुमारा दिसानायकेको लागि उनीहरूको जनादेशलाई पूर्ण रूपमा सम्मान गर्दछु, उनले भनेका छन् ।

प्रेमदासाका समर्थक तमिल नेसनल अलायन्सका प्रवक्ता एमए सुमन्थिरनले भनेका जाती र धार्मिक अराजकता प्रदर्शन नगरी दायानायकेले प्रभावकारी जीत हासिल गरेको बताएका छन् । बीबीसीका अनुसार श्रीलंकाका नयाँ राष्ट्रपतिका लागि आर्थिक पुनरुत्थान र गरिबीको चपेटामा गरहेका लाखौं जनतालाई बाहिर निकाल्ने चुनौती छ । आर्थिक अवस्था खस्किएपछि उठेको जनसंघर्षका कारण सन् २०२२ मा राजापाक्षेले राष्ट्रपति छोड्नुपरेको थियो । 

सन् २०२२ को आर्थिक संकटयता यो श्रीलंकामा भएको पहिलो निर्वाचन हो । २०२२ को आर्थिक संकटको समयमा गोतबाया राजापाक्षे सरकारविरुद्ध बृहत स्तरमा जनविद्रोह भएको थियो । प्रदर्शनकारीहरू कोलम्बोमा रहेको राष्ट्रपतिको निवासमा घुसेका थिए । त्यसपछि गोतबाया देश छाडेर भाग्न बाध्य भएका थिए । त्यतिबेला रनिलले देशको बागडोर सम्हालेका थिए ।

आइतबार​ ६ असोज २०८१ १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया