×

एमाले संसदीय दलका उपनेता आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त

images

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले आजै कांग्रेसको समर्थनमा सरकार बनाउने दाबि पेश गरेका थिए।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको थियो। प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो।

यसैअनुरुप प्रदेशसभामा रहेका एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जना सदस्यको समर्थनमा आचार्यले दाबी प्रस्तुत गरेका थिए।

प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री आचार्यसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरीलगायतका सदस्यहरू पुगेका थिए। ५६ वर्षीय आचार्यको राजनीतिक सक्रियता भने २०३५ सालबाटै सुरु भएको थियो । विद्यार्थी जीवनबाट राजनीति थालेका उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला सदस्य हुँदै पार्टी राजनीतिमा आएका थिए ।

२०४६ सालमा पार्टी इलाका कमिटी सदस्य, अर्को वर्ष जिल्ला सदस्य हुँदै २०५४ सालमा पार्टी जिल्ला सचिव बनेका थिए । जिल्ला सचिव सचिवको भूमिकामा उनी ११ वर्ष रहे ।

२०६५ सालदेखि चार वर्ष लुम्बिनी अञ्चल कमिटीको सदस्य बनेका उनी २०६९ मा अर्घाखाँचीको अध्यक्ष भए । आचार्य १० वर्ष अध्यक्ष भएरै काम गरे । २०७८ मा जिल्ला अध्यक्ष छोडेका आचार्य केन्द्रीय सदस्य छन् ।

संसदीय राजनीतिमा २०७४ र २०७९ साल दुबै निर्वाचनमा अर्घाखाँचीबाट प्रदेश सभा सदस्य निर्वाचित भए । पहिलोपटक शंकर पोखरेल मुख्यमन्त्री हुँदा करिब ३ महिना आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका आचार्य २०७९ मा लिला गिरी मुख्यमन्त्री हुँदा शहरी विकास खानेपानी तथा ग्रामीण विकास मन्त्री थिए ।

त्यसअघि गत २१ फागुनमा सत्ता समीकरण फेरिएर माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री हुँदा आचार्य आर्थिक मामिला तथा योजना मन्त्री भए । जोखबहादुरले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार बनाउँदा उनी मुख्यमन्त्री नै बने ।

 

सोमबार ७ साउन २०८१ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया