उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ ।
बिपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बिपी कोइरालाको सिद्धान्त अनुरुप भएको दाबी गर्नुभयो ।
बिपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन समय समयमा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उहाँले आफूहरुले पनि महत्वपूर्ण राजनीतिक निर्णय गर्दा बिपी कोइरालालाई सम्झने गरेको बताउनुभयो ।
बिपी कोइरालाको सिद्धान्त अनुरुपनै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको उहाँको दाबी छ । अब सरकार र राजनीतिक शक्तिले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बिपी कोइरालाप्रति सच्चा सम्मान हुने उपप्रधानमन्त्री खड्काले धारणा राख्नुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजल स्थिति बिपी सङ्ग्रहालयमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुको सालिकमा माल्यार्पण गर्नु साथै सङ्ग्रहालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली माटोमा आधारित राजनीतिक दर्शन स्थापित गर्न बिपी कोइरालाको सोच सान्दर्भिक रहेको बताउनुभयो । त्यसका लागि बिपीले गरिब किसानका तस्बिर योजना आयोगमा राख्ने प्रणालीको विकास गराउनुभएको समेत उहाँले स्मरण गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले राष्ट्रियताका विषयमा बिपीसँग माओवादीको पनि बिचार मिल्ने धारणा राख्नुभयो । सङ्ग्रहालयमा विपीको जीवनकालमा प्रयोग भएका चिजविज सङ्ग्रह गरिनुपर्ने उहाँको भनाइ छ ।
सो अवसरमा आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ राजनीतिक दर्शन विधातर्फ कुलबहादुर गुरुङ र ढुण्डीराज शर्मा पौडेल (ढुण्डिराज शास्त्री)लाई संयुक्तरुपमा प्रदान गरेको छ । त्यसैगरी बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ साहित्यिक विधातर्फकाे पुरस्कार देवीप्रसाद रेग्मी र गिरिराज आचार्यलाई संयुक्तरुपमा प्रदान गरिएको छ । पुरस्कारको राशी जनही रु एक लाख छ ।
प्रतिक्रिया