काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरमा ल्याउन माग गरेका छन्। सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममासंसदमा बोल्दै सुवालले ओली र देउवाको नाम उल्लेख नगरेपनि दुई पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गरिनुपर्ने माग गरेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा दुई जना तत्कालीन उपप्रधानमन्त्री प्रहरी हिरासततमा रहेकाले यसमा पूर्वप्रधानमन्त्री पनि संलग्न भएको आशंका उनले व्यक्त गरे। ‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्’ सुवालले भने, ‘यो प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनु पर्ने आवश्यकता छैन र ?’ सुवालले भने, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ४ सय नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका छिराइएको अभिव्यक्ति दिएकोप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए।
'एक पूर्वप्रधानमन्त्रीले ४ सय नेपालीलाई भूटानी शरणार्थी बनाएर १० वर्षअगाडि नै अमेरिका छिराएको प्रमाण आफूसँग भएको सार्वजनिक रूपमै बोलेको सरकारलाई थाहा छैन र?' उनले प्रश्न गरे।
यसैगरी जापानमा राजवंशी कोटा खुल्यो भनी ४ सय जनाबाट ३ सय करोडभन्दा बढी ठगी गर्ने गिरोहसँग पनि मन्त्रीको संलग्नता रहेको हुनसक्ने आशंका उनले व्यक्त गरे।यसैगरी अमेरिकाको एक प्रतिवेदनमा भारतीय जनता पार्टी(भाजपा)ले नेपाली शासक दललाई हिन्दू राज्य रुपैयाँ दिएकोबारे पनि उनले सरकारको जवाफ माग गरेका छन्।
प्रतिक्रिया