×

प्रहरी प्रमुखको दाबेदार मानिएका डिआइजी अशोक सिंहले दिए राजीनामा

images

 काठमाडौं । डिआइजी अशोक सिंहले राजीनामा दिएका छन्। नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका डीआईजी सिंहले राजीनामा दिएका हुन । उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि डीआईजी सिंहले राजीनामा दिएका हुन् । उमेरबारे उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए।

२०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ। तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ। 

उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो।  सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरकफरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । 

सिंहले चाहिँ प्रतिष्पर्धामा आफू अगाडि देखिएपछि प्रतिसोध साँधिएको दाबी गर्ने गरेका थिए । सिंहको राजीनामासँगै अब भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा मुख्य प्रतिष्पर्धी देखिएका छन् ।

प्रहरी नियमावली–२०७१ को नियम १२७, १३९ र १८९ मा उमेर विवादबारे उल्लेख गरिएको छ । प्रहरी नियमावली अनुसार पुराना नागरिकता र शैक्षिक प्रमाणपत्रमा १ वर्षभन्दा कम उमेर फरक भेटिएमा शैक्षिक प्रमाणपत्रको उमेरलाई आधिकारिक मान्ने अभ्यास छ ।

तर, सिंहको उमेर १ वर्षभन्दा धेरै फरक देखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा प्रतिस्पर्धामा रहेका सिंहले बुधवार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन्।

बुधबार १० फागुन २०७९ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया