×

कात्तिक १६ गतेबाट अनिवार्य अवकाशमा जान लागेकी किरण राणा एआईजीमा बढुवा सिफारिस

images

काठमाडौँ ।  कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस भएकी छन्। आइतबार साँझ बसेको बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो। 

केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण ११ दिनपछि अनिवार्य अवकाशमा  जान लागेकी छन् । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् ।

एआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजी) सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले आइतबार सिनियर दुई डीआईजीहरु बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई पछि पार्दै १५ कात्तिकमा अनिवार्य अवकाशमा जान लागेकी राणालाई बढुवाका लागि सिफारिस गरेको हो ।  

कांग्रेस नेता ज्ञानेन्द्र कार्कीकी नातेदार राणालाई विशिष्ट श्रेणीबाट अवकाश हुने गरी बढुवा सिफारिस गरिएको जानकारहरू बताउँछन् । विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुन्छन् । 

सोमबार ५ कात्तिक २०८१ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया