काठमाडौँ । पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसंख्या ४१ प्रतिशत भन्दा माथि लागेको छ । यद्यपी कोरोना बीमा भुक्तानीमा देखिएको अलमलले निर्जीवन बीमामा अहिलेको बृद्धिमा केही संकुचन भने आएको छ ।
एक वर्षको अवधिमा नेपालमा बीमाको दायरा झण्डै १४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) करिब ४१.२० प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १३.६८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बीमाको पहुँच २७.५२ प्रतिशत जनसंख्यामा पुगेको थियो ।
बैंकिङ क्षेत्रकै पछिपछि अर्थात झण्डै साढे आठ दशकको यात्रा तय गरेको भएपनि बैंकिङकै दाँजोमा दौडिन नसकेको नेपालको बीमा क्षेत्रले पछिल्ला दशकमा उचाइ लिन थालेको हो । यद्यपी यसको बृद्घिदर सन्तोषजनक नभएको विज्ञहरु बताउँछन् ।
बीमाको विश्व इतिहास लामो छ । विकसित अर्थतन्त्रको सर्वाङ्गीण पक्षमा बीमा लामै समयदेखि अपिहार्य आयाम हो तर विकासशील देशमा बीमाको अभ्यास नयाँ नै छ। कतिपय देशमा पाँच सात दशकको अभ्यास छ त कतिपयमा अझ नविन छ यो अभ्यास । नेपालमा बीमा अहिले फस्टाउँदो अवस्थामा छ । राणाको अन्त्यतिर नेपालमा उद्यम व्यवसाय खुल्ने क्रम शुरु भयो । त्यससँगै नेपालमा पनि बीमाको प्रचलन उद्भव भयो । अझ स्पष्ट विश्लेषण गर्नुपर्दा बैंकिङ सँगसँगै बीमा जन्मियो । बैङ्ककै कारण बीमा जन्मियो भन्दा पनि हुन्छ । वि.स.१९९४ सालमा नेपाल बैंक स्थापना भएपछि नेपालमा संस्थागत व्यापार व्यवसाय सुरु हुन थाल्यो । खासगरी आयात निर्यात व्यापारका लागि बीमा कम्पनीको पनि आवश्यकता महसुस गर्न थालियो र नेपालमा बीमा व्यवसायको थालनी भएको थियो ।
गत आर्थिक वर्ष २०७८-७९ को असार मसान्तसम्ममा जीवन बीमालेखको संख्या पनि ५२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असारसम्म यस्तो बीमालेख एक करोड ३० लाख ९९ हजार ६३२ कुल जीवन बीमालेख रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ८६ लाख १२ हजार ८५० रहेको थियो । यस्तै निर्जीवन बीमालेख संख्यामा भने २.०६ प्रतिशतको मात्रै बृद्घि देखिएको छ । गत आर्थिक वर्षमा २७ लाख ८८ हजार १८ रहेको निर्जीवन बीमालेख संख्या अघिल्लो वर्षको सोही अवधिमा २७ लाख ३१ हजार ७७३ रहेको थियो ।
६० प्रतिशत पुग्नुपर्ने
बीमाको दायरामा आएको जनसंख्या ४१ प्रतिशत पुग्नु अहिलेको समयमा कमै भएको बताउनुहुन्छ बीमा विज्ञ तथा नेपाल पुर्नबीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरे । जुन रुपमा बढ्नुपर्ने हो त्यो हुन नसकेको भन्दै उहाँले अहिलेको सन्दर्भमा ६० प्रतिशतसम्म पुग्नुपर्ने बताउनुहुन्छ ।
निर्जीवन बीमालेख संख्यामा जीवन बीमाको तुलनामा कम देखिनु कोरोना बीमाको भुक्तानी गर्न बाँकी रहेको रकमको पनि नकरात्मक प्रभाव भएको उहाँको भनाई छ । कोरोना बीमाको दाबी भुक्तानी दिन बाँकी भएका कारणले पनि जीवन बीमाको तुलनामा निर्जीवन बीमालेखको संख्याको बृद्घिदर न्यून भएको उहाँ बताउनुहुन्छ ।
सन् २०१० तिर युनिटीलनामक नेटवर्क कम्पनीले बीमा क्षेत्रलाई बद्नाम गर्दा त्यो बेला पनि बीमाको बृद्घिदरमा कमी आएको स्मरण गर्दै उहाँ भन्नुहुन्छ –“आम सर्वसाधारणले जीवन र निर्जीवन छुट्याएर हेर्दैनन । केही कैफियत देखियो भने तर्सिन्छन् ।”
यस्तै गत आर्थिक वर्षमा जीवन बीमाशुल्क संकलनमा १४.६३ प्रतिशतले बृद्घि भएको छ भने निर्जीवन बीमाशुल्क संकलनमा २३.५६ प्रतिशतले बृद्घि देखिएको छ । समग्रमा कुल बीमा संकलनमा १६.४८ प्रतिशतको बृद्घि देखिएको छ ।
गत आर्थिक वर्षको असारसम्म एक खर्ब ३८ अर्ब ६४ करोड पाँच लाख १० हजार रुपियाँ बराबर जीवन बीमाशुल्क संकलन भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब २० अर्ब ९५ करोड रुपियाँ बराबर जीवन बीमाशुल्क संकलन भएको थियो । यस्तै गत आर्थिक वर्षको असारसम्म ३९ खर्ब १६ अर्ब ९९ करोड ८९ लाख रुपियाँ बराबरको निर्जीवन बीमा शुल्क संकलन भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३१ अर्ब ७० करोड रुपियाँ बराबरको निर्जीवन बीमाशुल्क संकलन भएको थियो ।
गत आर्थिक वर्षको असारसम्म कुल बीमाशुल्क १७७८ अर्ब रुपियाँ रहेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा १५२६ करोड रुपियाँ रहेको थियो ।
बीमा समितिका अनुसार म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३८.२६ प्रतिशत पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षमा २५.२३ प्रतिशत मात्रै रहेको थियो । पछिल्लो समय म्यादी बीमालेखमा आकर्षण बढेपछि दायरा विस्तार थप सहयोग पुगेको छ ।
शुरुवातीमा बैंकको सहायक कम्पनीका रुपमा शुरु भएको बीमा क्षेत्र अहिले फैलिएको छ । गत असारसम्मद देशभर बीमा कम्पनीहरुको कार्यालय संख्या तीन हजार ३६६ पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १४.७६ प्रतिशतले बढी हो । यस्तै बीमा कम्पनीहरुको कर्मचारी संख्या पनि ११ हजार ८६१ पुगेको छ । यो पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.३१ प्रतिशतले बढी हो ।
प्रतिक्रिया