काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । आजको बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएकोमा गण्डकी, मधेस र उपत्यका कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूले बोलेका थिए ।
हरेक केन्द्रीय सदस्यलाई ३-३ मिनेटको समय दिइएको छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
उनले पार्टीको केन्द्रीय सचिवालय र पोलिटब्युरोले प्रस्ताव गरेका विषयमा अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरुले सहमति जनाएको र पूर्वराष्ट्रपति भण्डारीको विषयलाई गम्भीरताका साथ लिदै नेतृत्वले राजनीतिक निर्णय गर्न सुझाव दिएको बताए ।
अब बैठक मंगलबार पनि चल्ने छ । यस बैठकले यसअघि सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरेको उपाध्यक्ष विष्णु पौडेलले प्रस्स्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको सङ्गठनात्मक प्रस्तावमाथि छलफलपछि अनुमोदन गर्ने छ ।
एमालेले प्रस्तावित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ भने पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने र केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया