×

निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ : अध्यक्ष ओली

images

काठमाडौँ, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  निरोगी समाज निर्माण गर्न योग अपरिहार्य भएको बताउनुभएको छ । 
    
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज एमालेद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो परिवार, छिमेकी र सिङ्गो मानव समुदायका लागि मस्तिष्कको सदुपयोग हुनु प्रमुख कुरा भएको बताउनुभयो । योगले शारीरिक, मानसिक स्वच्छताका साथै आचरण, व्यवहार र क्रिया–कर्मको समेत स्वच्छता र पवित्रताको मार्गदर्शन गर्ने उहाँको धारणा छ । 

  “योग कसैलाई चाहिने, कसैलाई नचाहिने होइन, यो सबै मानव जातिको साझा सम्पत्ति हो”, अध्यक्ष ओलीले भन्नुभयो । योगको सार अहिंसा, सत्य धारण र शरीरको नियन्त्रण भएको उहाँले बताउनुभयो । मानिसलाई स्वस्थ जीवन जिउन र असल कर्म गर्न सिकाउने कुरा योग हो भन्ने कुरा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । योगमा गलत कुरा र स्वार्थ मिसिन नहुने अध्यक्ष ओलीको भनाइ थियो । सङ्कीर्ण र समूहगत स्वार्थ योगमा मिसिनु नहुने उहाँले बताउनुभयो । 

योगले मानिसलाई गलत बाटोबाट सही मार्गमा तथा गलत विचारबाट सही विचारतर्फ डो¥याउन मद्दत पुग्ने अध्यक्ष ओलीको धारणा थियो । योग सद्विचार र सत्कर्मको संयोग भएको उहाँले बताउनुभयो । ध्यान शिवको पालादेखि नै भए पनि बुद्धको पालामा आएर यसले विशेष महत्व पाएको उहाँको भनाइ थियो ।

शुक्रबार​ ७ असार २०८१ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया