×

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काइँदैछ, निर्दोष फसाइँदैछ- अध्यक्ष केपी ओली

images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा प्रमुख तीन दलका नेताहरुबीचको भेटवार्तालाई लिएर शंकाको दृष्टिकोणले हेरिएकोमा आपत्ति जनाएका छन् । उनले संसदलाई चलाउनको लागि आवश्यक पहल लिनको लागि गरिएको भेटवार्ताबारे सन्देह गरिनु दुःखद् भएको टिप्पणी गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी तीनजना मध्ये पनि दुई जना चाहिँ दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिँ अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको रे । याद राख्नुस्, बाघ बुढो हुँदैमा घाँस खाँदैन ।’

ओलीले यसअघि नै आफूले संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए । उनले जेठ ४ गते नै बोल्ने भनिएको थियो । तर, तीन दिनपछि उनले आज गरेको सम्बोधनमा त्यसबारेमा पनि बोलेका छन् । ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरे । उनले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारसमक्ष माग गरेका छन् ।

उनले भने, ‘६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए । मेरो पालामा एउटा समिति बनेको हो । त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ । मलाई त त्यसबेला पिङ खेलाएको खेलाऐ थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन । पछि अर्को सरकारको पालामा कागज फेरियो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो ।’

यो प्रकरण सरकारले नभएर आफैँ बाहिर आएको बताउँदै अहिलेको सरकारले जुँगामा ताउ लाउनुपर्ने कुनै कारण नभएको पनि ओलीको भनाई छ । उनले थपे,‘‘यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो ।

आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न ।’ ओलीले भुटानी शरणार्थीको सेटेलमेन्टको लागि आफूले पनि अमेरिका भ्रमणमा जाँदा (सन् २००६) तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस र तत्कालिन विदेशमन्त्री कोण्डालिसासँग कुरा गरेको स्मरण गराएका छन् । 

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन्। ‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्।छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं,’ आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भने।

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यस प्रकरणमा कतिपयलाई एमालेको नाम लिन रहर लागेको बताए। ‘एमालेलाई गाली गर्न मन लागेको छ। केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी। पार लाग्दैन,’ उनले भने। उनले आफू भ्रष्टाचारविरूद्ध सधैँ छानबिन होस् भन्ने पक्षमा रहेको बताए।

‘निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने, यस प्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो अझ भयावहरूपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ। चानचुने कुरा हो? त्यसकारण यो भोलि पनि निस्कन्छ। निर्दोष नफसोस्,’ ओलीले संसदमा भने।

आइतबार​ ७ जेठ २०८० ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया