×

नीति तथा कार्यक्रममाथि ओलीको कटाक्ष - प्रधानमन्त्रीज्यू, दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो

images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशको असामान्य अवस्था लुकाउन खोजेको आरोप लगाएका छन् । सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको टिप्पणी गरेका हुन् । उनले भने,‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’

उनले नीति तथा कार्यक्रम भनेको सरकारको गन्तव्य नै मार्गचित्र भएकोले अहिले त्यस्तो नीति तथा कार्यक्रम नआएको जिकिर गरे । ओलीले थपे–‘जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो। एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू ! भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो।

मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम को समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ ? मैले पहिल्याउने कोसिस गरे। तर, त्यस्तो छैन।’

अध्यक्ष ओलीले भने–‘सर्वसाधारणले उपभोग गर्ने सामग्रीको मूल्य १५ देखि २५ प्रतिशतसम्म वृद्धि भएको छ । निर्यात २६ प्रतिशतले घटेको छ । आयात १८ प्रतिशतले घट्दा विकास निर्माणका सामग्री, औद्योगिक कच्चा पदार्थ, विद्युत् तथा सञ्चार उपकरण, कृषि उपकरण, निर्यात गरिने कच्चा पदार्थका सामग्री अभाव हुन थालेका छन् ।

तरलताको अभाव, उच्च ब्याजदर, ऋण नतिर्नेलाई राजनीतिक संरक्षण, व्यवसायीको खस्केको मनोबल लगायतका यथार्थहरूलाई संबाेधन गर्ने गरी नीति तथा कार्यक्रम आएको छैन ।’

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम उच्च आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नै नभएको अध्यक्ष ओलीको दावी छ । आधुनिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढाउने उत्साह नै नभएको टिप्पणी गरे । 

आइतबार​ ७ जेठ २०८० १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया