काठमाडौं । आलिया भट्ट अभिनित चलचित्र ‘डार्लिंग्स’ नेटफ्लिक्समा रिलिज भएको छ । चलचित्रको कथा घरेलु हिंसामा आधारित छ, जहाँ श्रीमानले दिनहुँ श्रीमतीलाई यातना दिनेगर्छ । यसै चलचित्रबाट आलिया निर्मात्री पनि बनेकी छिन् ।
चलचित्रको कथा मुम्बईको चौलमा बस्ने बद्रु (आलिया भट्ट) र उनका श्रीमान् हमजा (विजय वर्मा) वरपर घुमेको छ । दुवैले प्रेम विवाह गरेका हुन्छन् । बद्रुकी आमा रुखसार (सेफाली शाह) आफनै छोरीको आसपासको घरमा बस्छिन् । रेलवे कम्पनीमा टिकटको काम गर्ने हमजालाई उनको मालिकले टिकट बेच्न लगाउनु्को साटो शौचालय सफा गर्न लगाउने गर्छन । वास्तवमा, उसले उनलाई दैनिक रुपमा नै शौचालय सफा गराउने गरेका हुन्छन् । हमजाको सधैजसो रक्सी पीउने बानी हुन्छ र केही न केही बहाना बनाएर श्रीमती बद्रुलाई पीटने गर्छन । एकदिन खाना खाईरहेको बेला खानामा उनले ढुङ्गा भेटाउँछन् र त्यहि बहानामा श्रीमतीलाई कुट्छन् । राती झगडा गर्ने र भोलिपल्ट श्रीमतीसँग माफी माग्नु हमजाको स्वभाव हुन्छ । यद्यपी, बद्रु पक्का हुन्छिन् कि हमजा एक न एकदिन अवश्य सुध्रिनेछन् ।
यसैबीच, हमजाको दुव्र्यवहार देखेर एकदिन जुल्फी (रोशन म्याथ्यू) जो दुबै आमाछोरीलाई सामानहरु किनवेच गर्ने गर्छन, हमजाको बारे प्रहरीमा उजुरी गरिदिन्छन् । तर हमजाको माया प्रेमका कुराहरुमा लठिएर बद्रुले प्रहरीबाट उजुरी फिर्ता लिन्छिन् । यसैबिचमा बद्रु गर्भवती हुन्छिन् र हमजा रक्सी छोड्न वाचा पनि गर्छन । तर पछि जब हमजालाई उसको प्रहरीमा कसले उजुरी गर्यो भन्ने कुरा थाहा हुन्छ त्यसपछि चलचित्रको कथाले बेग्लै मोड लिन्छ । बद्रुले बच्चा पाउँछिन् कि पाउँदिनन् र हमजाले आफनो बारे प्रहरीमा उजुरी दिने माथी के कस्तो व्यवहार गर्छन भन्ने कुरा नै चलचित्रको मुख्य बिषय बनेको छ ।
हमजाको व्यवहारले वाक्कदिक्क भएकी बदु्र उनलाई सवक सिकाउन कस्तो निर्णय लिन्छिन् भन्ने कुरालाई पनि चलचित्रमा सहि ढंगले प्रस्तुत गरिएको छ । उनको हरेक काममा आमा रुखसारले उनलाई साथ दिईरहेकी हुन्छिन् । आमा र छोरी हमजालाई सवक सिकाउन कुन हदसम्म जान्छन्, कथा यही सन्दर्भमा छ ।
चलचित्रमा आलियाको अभिनय उत्कृष्ट छ । यस्तै विजय वर्माका लागि यो चलचित्र उनको करियरकै उत्कृष्ट साबित हुनसक्छ । सेफाली शाहले पनि आफ्नो चरित्रमा न्याय गरेकी छिन् । कसाईको भुमिकामा देखिएका कासिम (राजेश शर्मा) को चरित्रमा भने केही अपूर्णता देखिन्छ । यस्तै रोशन म्याथ्यूको अभिनयलाई पनि हामीले भुल्न हुदैन ।
निर्देशक जसमीत के रेनको यो पहिलो डेव्यु चलचित्र हो । परवेज सेखसँगै मिलेर उनले चलचित्रको कथा लेखेका हुन । उनले डार्क कमेडी कथालाई पर्दामा निकै राम्रोसँग पस्किएका छन् । सेफाली शाह र आलिया भट्टको अभिनयले नै चलचित्र माथी उठेको छ । मन छुने दृश्य होस् वा कठिन दृश्य निर्देशकले यी दुबैकोे अभिनयलाई चलचित्रमा सहि ढंगले उपयोग गरेका छन् ।
प्रतिक्रिया