×

राष्ट्रपतिको भ्रमणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल

images

काठमाडौँ, ६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि अभिवृद्धि भएको बताउनुभएको छ ।
    
    प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति पौडेलबाट गत जेठ २९ देखि यही असार ५ गतेसम्म भएको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका बारेमा सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले उच्चस्तरीय भ्रमण परराष्ट्र नीति सञ्चालनको अभिन्न पक्ष भएको बताउनुभयो । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन गत जेठ २९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उक्त सम्मेलनमा सहभागी भई उहाँ असार १ गते जर्मनीको औपचारिक भ्रमणमा जानुभएको थियो । 

    स्वीट्जरल्याण्डमा रहँदा राष्ट्रपति पौडेलले त्यहाँका राष्ट्रपति भियोला एमहर्डसँग गत जेठ ३० गते द्विपक्षीय भेटवार्ता गर्नुभएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त भेटमा नेपाल–स्वीट्जरल्याण्ड द्विपक्षीय सम्बन्धका विविध विषय तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको स्पष्ट पार्नुभयो । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा राष्ट्रपति पौडेलले नेपालको विकास प्राथमिकताका विषयमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी,  व्यापारलगायत क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारबाट सहयोग बढाउन आग्रह गर्नुभएको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराउनुभयो । 

    सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक–आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिँदै सन् २०२६ सम्ममा स्तरोन्नति हुन प्रयत्नशील रहेको सन्दर्भमा स्वीट्जरल्याण्ड सरकारको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । 

    “उक्त द्विपक्षीय भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, राष्ट्रपतिका विदेश मामिला सल्लाहकार डा सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो”, राष्ट्रपति पौडेलको भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो । 

    राष्ट्रपति पौडेलले गत जेठ ३१ गते जेनेभामा आयोजित आइएलओको एक सय १२औँ वार्षिक सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुभएको उहाँले सदनलाई जानकारी गराउनुभयो । “उक्त सम्बोधनमा राष्ट्रपतिले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको औचित्यता, नेपालले श्रमिकको हक, अधिकार सुनिश्चित गर्न गरेका प्रयास तथा उपलब्धि तथा नेपालको संविधानमा सामाजिक न्यायलाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको लगायत विषयलाई प्रकाश पार्दै नेपाल श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 

    गत जेठ ३१ गते राष्ट्रपति पौडेलसमक्ष आइएलओका महानिर्देशक गिलबर्ट हुंग्बोले शिष्टाचार भेट गरी नेपालले सामाजिक सुरक्षालगायतको क्षेत्रमा गरेको सुधारको प्रशंसा गर्नुभएको थियो । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सम्पन्न गरी यही असार १ गते जेनेभाबाट जर्मनीको बर्लिनका लागि प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति पौडेलले पोट्सड्यामको भ्रमण गरी जलवायु परिवर्तनसम्बन्धी संस्थाका प्रतिनिधिले गर्नुभएको छुट्टाछुट्टै प्रस्तुतीकरणमा सहभागी हुनुभएको थियो । सो अवसरमा उहाँले जलवायु परिवर्तनको क्षेत्रमा नयाँ अध्ययन, अनुसन्धान भइरहेकामा सराहना गर्दै यस प्रकारका अध्ययन, अनुसन्धान तथा नयाँ प्रविधिबाट नेपालजस्ता जलवायु परिवर्तनबाट प्रताडित मुलुकसमेत लाभान्वित हुनुपर्नेमा जोड दिनुभएको थियो । 

    यही असार ३ गते राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच द्विपक्षीय भेटवार्ता भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सो क्रममा दुई देशका राष्ट्रपतिबीच द्विपक्षीय सहयोग, व्यापार तथा वाणिज्य, प्रविधि हस्तान्तरणलगायत नेपाल–जर्मनी सम्बन्धका विविध पक्षपारे छलफल भएको स्पष्ट पार्नुभयो । द्विपक्षीय भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रपतिका विदेश मामिला सल्लाहकार डा सुरेश चालिसे, राष्ट्रपति कार्यालय र परराट्र मन्त्रालयका सचिवहरू, जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको तथा जर्मन प्रतिनिधिमण्डलमा राष्ट्रपति कार्यालय र विदेश मन्त्रालयका स्टेट सेक्रेटरीलगायत उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी दिनुभयो ।

बिहीबार ६ असार २०८१ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया