×

अर्थसमितिको बैठक- ज्ञानेन्द्रबहादुर कार्की र राप्रपा सांसद ज्ञानेन्द्र शाहीबीच सवाल जवाफ

images

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदबीच सवाल जवाफ भएको छ । बिहीबार बसेको समितिको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की र राप्रपा सांसद ज्ञानेन्द्र शाहीबीच सवाल जवाफ भएको हो ।

आजको बैठकमा भन्सार ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथी छलफल हुने कार्यसूची थियो । तर, बैठकमा उपस्थित राप्रपा सांसद शाहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयताबारे दिएका अभिव्यक्ति, अमेरिकी सहयोग परियोजना एमसीसी रद्द र संसद्मा एमसीसी पास गर्ने बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बोलेका कुरामाथि धारणा राख्दै विषयवस्तु भन्दा बाहिर गएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको संघीयताका लासग दिइएको सहयोगलाई ‘ठगी’ को संज्ञा दिँदै रद्द गर्ने निर्णयबारे जानकारी गराएका थिए । हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका थिए । सो बारेमा सांसद शाही बोलेका थिए ।

सांसद शाहीले नेपालमा एमसीसी परियोजना रोकिएको बारे कुरा गर्दै एमसीसीमा हस्ताक्षर गर्र्ने नेपालको व्यक्तिबारे सोधेका थिए । त्यसक्रममा एमसीसीमा तत्कालीन अर्थमन्त्रीको रुपमा हस्ताक्षर गरेका कार्कीले म हुँ भन्दै जवाफ दिएका थिए ।

‘हाम्रो पैसा त खेर गयो नि । आज लथालिङ्ग भएका छन् आयोजना योजनाहरू,’ सांसद शाहीले प्रश्न गर्दै भने, ‘यो सेतो भ्रष्टाचार भएको हुनाले सिग्नेचर गर्ने को-को हुन् ? पास गरौं भनेर हुलदंगा गर्ने को-को हुन् ? के के यसो मेनोफेस्टो ल्याउने को-को हुन् ?’

सांसद शाहीको प्रश्नपछि कार्कीले ‘म हो’ भन्दै दोहोर्‍याएर ‘ सिग्नेचर (हस्ताक्षर) गर्ने म हो ।’ भनेका थिए ।

यता कार्कीसँग सवाल जवाफ पछि शाही कांग्रेस महामन्त्ती गगन थापाको अभिव्यक्तितिर सोझिए एमसीसी पास गर्नेबेला गगनले बोलेको सम्झँदै उनले भने ‘एउटा गीत थियो अमेरिका जाऔँ चीन जाऔँ ६० अर्ब मागौँ, भारत जाऔँ ५० अर्ब मागौँ । अमेरिकाले चिलिम देखाइदियो अब देश छोडेर भागौँ भन्ने भाछ । एमसीसी भनेर बहुत कराउनुभएको थियो त्यतिखेर’ ।

लगातार सांसद शाही आफ्नो विषयबस्तु भन्दा बाहिर गएर बोल्न थालेपछि सांसदहरु सूर्य थापा, कल्पना चौधरी र नारायणी शर्माले आपत्ति जनाएका थिए । सभापति सन्तोष चालिसेले आगामी छलफलमा विषयवस्तु बाहिरको सन्दर्भ ल्याउने सांसदलाई तत्काल रोक्ने र विषय वस्तुमै केन्द्रित रहेर छलफल गराउने प्रतिवद्धता गरे ।

बिहीबार ८ फागुन २०८१ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया