×

राष्ट्रपति निर्वाचन : गठबन्धनभित्र शंकै शंका, आशैआशमा कांग्रेस

images

काठमाडौं । २५ फागुनमा तय भएको राष्ट्रपति निर्वाचनको विषय लिएर सत्ता गठबन्धनभित्र शंका बढेको छ । राष्ट्रपतिमा दाउ छोप्ने प्रयासमा रहेको नेपाली कांग्रेस भने गठबन्धनभित्र अविश्वास बढ्दा चुनाव आफ्नो पक्षमा पार्ने आशामा रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक सहमतिमै नयाँ राष्ट्रपति चुनिने बताउँदै गर्दा सत्ता गठबन्धनमा रहेका दलबीच शंका बढ्दै गएको हो । कांग्रेस भने प्रचण्डबाट सहमतिको नारा आउँदै गर्दा आशा जगाएरै बसिरहेको छ ।

एमाले नेता सुवास नेम्वाङले वर्तमान सरकार निर्माण हुँदा नै राष्ट्रपति एमालेले लिने सहमति भइसकेकाले राष्ट्रपतिका लागि नयाँ सहमति आवश्यक नभएको बताए ।

‘प्रधानमन्त्रीले सहमति सहमति के सन्दर्भमा भनिरहनुभएको हो, उहाँ नै जान्नुहोला, गठबन्धनकैतर्फबाट एमालेले राष्ट्रपतिका लागि उम्मेदवार अघि सार्दै गर्दा माओवादीका साथीहरू पनि सहमत हुनुपर्ने हो,’ नेम्वाङले भने ।

शंका आशंकाकै बीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत १० पुसमा वर्तमान सरकारको खाका बनाइँदा नै राष्ट्रपति एमालेले लिने सहमति भइसकेको दाबी गर्दै आइरहेका छन् ।

ओलीले २ फागुनमा आफ्नो दलको विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डको कार्यशैली र वर्तमान सत्ता समीकरणमाथि शंका व्यक्त गरेका थिए ।

‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं, यो सफलताको कुरा हो तर कथंकदाचित यो स्थिति फेरियो भने?, यो संसद्को बनावट नै अस्थिरताको कारक हुनेछ,’ अनेरास्ववियूको २३औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भनेका थिए ।

नयाँ राष्ट्रपतिका विषयमा एकअर्काप्रति शंका बढेपछि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटार–बालकोट आउजाउ पनि बढ्दै गइरहेको छ ।

प्रचण्ड सरकार बन्दा नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको एमाले नेताको दाबी छ ।

तर, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताए । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय अस्मितामाथि खतरा हुन सक्ने, अराजकता र अस्थिरता निम्तने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकाले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने आफ्नो दलको रणनीति रहेको स्पष्ट पारेका छन् । राजधानी दैनिकबाट

सोमबार ८ फागुन २०७९ ०८:४० AM मा प्रकाशित

प्रतिक्रिया