×

प्रधानमन्त्री सहमतिबाटै टुंग्याउँछौं, दलबाटै राष्ट्रपति चयन : प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने बताएका छन् ।  अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताए ।

प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।

माओवादी अध्यक्ष प्रचण्डले विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने बताएका छन् । गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने उनको भनाइ छ । अध्यक्ष प्रचण्डले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए ।  ‘स्वभाविक रुपमा सवैसँग छलफल चलिरखेका छ । तर म  प्रधानमन्त्रीका लागि सवै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले यसअघि धेरै नेताहरुलाई आफुले प्रधानमन्त्री बनाउन भुमिका खेलेको पनि स्मरण गराए । 

उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै अरुको पनि कुराकानी भइरहेको बताए । ‘यो स्वभाविक हो, कांग्रेस–एमालेको पनि कुरा भइरहेको छ । कुरा हुनेवित्तिकै टुंगोमा पुगेको भन्ने होइन’अध्यक्ष प्रचण्डको भनाइ छ । आफूले अहिलेसम्म प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै नगरेको प्रचण्डको जिकिर छ ।

‘गठबन्धन, संविधान, निर्वाचनको निम्ति धेरै नेताहरूलाई प्रधानमन्त्री प्रस्ताव गरेको छु । आफैँ हुनुपर्छ भनेको छैन ‘, प्रचण्डको भनाइ थियो । प्रचण्डले एमाले माओवादी पार्टी एकताका लागि बाहिर आएजसरी औपचारिक छलफल र कुराकानी पनि नभएको बताए । उनले राष्ट्रपति गैरदलीय व्यक्ति हुननसक्ने भन्दै  केही बुद्धिजीवीहरुले त्यस्तो व्यक्ति हुदाँ राम्रो हुने भनेर भनेपनि अहिले त्यो सम्भावना नरहेको र दलबाटै राष्ट्रपति चयन हुने बताए ।  

सोमबार ४ पुस २०७९ १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया